मंगलबार, आश्विन २० गते २०८३

चन्डेश्वरी साकोसको ३४ औं साधारण सभा, अध्यक्षमा मानन्धर निर्वाचित


आश्विन १९, २०८३ सोमबार
चन्डेश्वरी साकोसको ३४ औं साधारण सभा, अध्यक्षमा मानन्धर निर्वाचित

 काभ्रेमा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३४ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।  संस्थाका अध्यक्ष नवीनभक्त बादे श्रेष्ठको सभापतित्व र बागमती प्रदेश सांसद कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा सभा  सम्पन्न भएको हो ।  

सभामा अध्यक्ष नविन भक्त वादे श्रेष्ठले काभ्रे जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले समुदायमा आधारित भएर सदस्य केन्द्रीत वित्तीय कारोबार गर्दै आएको बताए । उनले सहकारी केवल बचत तथा ऋणको कारोबार गर्ने संस्था मात्र नभई समाजमा छरिएर रहेको स सानो पुँजीलाई संकलन गरी समाजको आर्थिक सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा लगानी गर्दै आएको बताए । सानो पँुजीबाट आरम्भ भएको संस्थामा ११ हजार ५५९ सदस्य र १ हजार ११३ बाल सदस्य आवद्ध भएको उनले सभामा जानकरी दिए ।

सहकारी मुल्य,मान्यता र सिद्धान्तमा आधारित भई संस्थाले सहकारी ऐन नियम र निर्देशनहरुलाई पालना गर्दै अगाडि बढेको उनले बताए । सहकारीबाट लिएको ऋणलाई समयमा तिर्न आग्रह गर्दै उनले समयमा साँवा ब्याज भुक्तानी गर्ने सदस्यलाई विभिन्न सुविधा दिँदै आएको समेत उनको भनाई छ ।  सचिव बुद्धरत्न मानन्धरले आ.व. २०८२\ ८३ को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आर्थिक वर्षको प्रस्तावित नीति तथा कार्यक्रमसभामा प्रस्तुत गरेका थिए ।

सभामा कोषाध्यक्ष गणेश कुमार रंजितले आर्थिक वर्ष २०८२\ ८३ को आर्थिक प्रगति प्रतिवदेन तथा चालु आर्थिक वर्षको प्रस्तावित आर्थिक कार्यक्रम तथा बजेट सभामा प्रस्तुत गरेका थिए । संस्थाको शेयर पुँजी ११ करोड ६१ लाख, बचत संकलन १ अर्ब २५ करोड ३५ लाख, ऋण लगानी ९० करोड ९४ लाख गरी २ करोड ५८ लाख खुद बचत गरेको उनले सभामा जानकारी दिए । सभामा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी सदस्यलाई सम्मान गरिएको थियो ।

सभाले तथा आर्थिक वर्षको वार्षिक लेखापरीक्षण प्रतिवेदनका आधारमा शेयर सदस्यहरूलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने निर्णयसमेत सर्वसम्मत रूपमा पारित गरेको छ । सभाका अवसरमा वर्षभरि संस्थासँग गरिएको बचत तथा ऋण कारोबारका आधारमा ५ जना उत्कृष्ट सदस्यहरूलाई सम्मान गरिएको थियो। त्यसैगरी, संस्थाका संस्थापक अध्यक्ष स्व। ज्योतिप्रकाश सैंजु स्मृति कोष अन्तर्गतको एसईई छात्रवृत्ति कार्यक्रमबाट ४ जना विद्यार्थीलाई जनही रु.१०,००० बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो भने संस्थाका २९ जना बाल बचतकर्तालाई एसईई सम्मान प्रदान गरिएको थियो।
  

नयाँ सञ्चालक समिति चयन 

eb1e48b2e05cfe9d9d34d93206e533ec230890f0.png
 सभाले बुद्धरत्न मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पुर्ण पोटे, सचिवमा सुरेन्द्र प्रजापति, कोषाध्यक्षमा जितेन्द्र भक्त पोटे चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा गणेश कुमार रंजित, रुकमणि देबि राजभण्डारी, मनोहरी पोटे, लक्ष्मि श्रेष्ठ र सुवनकुमार प्रधान चयन भएका छन्। संस्थाको लेखा सुपरीक्षण समिति संयोजकमा रोशना राजवंशी र सदस्यहरुमा कृष्णेश्वरी श्रेष्ठ र गोपाल श्रेष्ठ निर्विरोध निर्वाचित भएको संस्थाले जनाएको छ ।

अध्यक्ष बुद्धरत्न मानन्धरले आफ्नो कार्यकालमा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै संस्थाका संस्थापक, पूर्व सञ्चालक समिति तथा उपसमितिका सदस्यहरू, सल्लाहकारहरू र पूर्व कर्मचारीहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।