भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी निजी लगानी भित्र्याउने एजेन्डासहित अर्थमन्त्री डा। स्वर्णिम वाग्ले अमेरिका पुगेका छन् ।
दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै वाग्ले गएराति अमेरिका पुगेका हुन् । वासिङ्टन डीसीमा उनलाई कार्यवाहक राजदूत शरदराज आरन तथा नेपाली दूतावासका पदाधिकारीले स्वागत गरेका छन् ।
अमेरिका भ्रमणका क्रममा वाग्लेले सोमबार अमेरिकी अर्थमन्त्री तथा सेक्रेटरी अफ द ट्रेजरी स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गासँग भेटवार्ता गर्नेछन् । ती भेटमा नेपालका लागि आर्थिक सहयोग विस्तार, पुनर्निर्माणका लागि स्रोत परिचालन, एफएटिएफ को ‘ग्रे लिस्ट’बाट बहिर्गमन तथा बृहत् आर्थिक सुधारका विषयमा छलफल हुने भएको छ ।
भ्रमणमा हालै भोटेकोशी क्षेत्रमा आएको महाप्रलयबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माणका लागि थप सहायता परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ । विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत जुटाउने र भविष्यमा विपद्का कारण हुने क्षति घटाउने गरी उत्थानशील पूर्वाधार विकास गर्ने विषयमा छलफल हुनेछ ।
यसअघि नै क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणमा ठूलो स्रोत आवश्यक पर्ने देखिएको अवस्थामा सरकारले विकास साझेदारबाट थप वित्तीय सहायता परिचालन गर्न खोजेको हो ।
नेपालपत्र संवाददाता