शुक्रबार, कार्तिक ७ गते २०८३

प्रगतिशील सहकारीकाे छलाङः दश रूपैया बचतबाट २४ कराेड पुँजी

मंसिर २९, २०७८ बुधबार
प्रगतिशील सहकारीकाे छलाङः दश रूपैया बचतबाट २४ कराेड पुँजी

 


दैनिक ३० पैसा बचत गरेर भविष्य सुन्दर बन्छ भन्ने तपाईंहरु कसैले कल्पना गर्नु भएको छ ? यो कुरा सुन्दा सायद धेरैलाई पत्यार पनि नलाग्ला । दैनिक सयपचास जम्मा गर्दा त भविष्यको आवश्यकता पूरा गर्न सकिँदैन भन्ने आम बुझाइ छ । कतिपय कुरा पत्यारलाग्दो हुँदैन तर ठोस संकल्पकासाथ लागिपरे ३० पैसाको बचतबाट पनि केहि गर्न सकिन्छ भन्ने उदाहरणहरु यहि  समाजमा नै छन् । 

गरे के हुँदैन र भन्ने सन्देश दिने त्यस्ता प्रेरणादायी उदाहरण मध्येको एक हो प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था । २०५४ सालतिरको कुरा हो, रुपन्देहीको तिलोत्तमा–१०, बेवरीका महिलाहरु संगठित भएर केहि गर्ने निधो गरे । तर उनीहरुको हातमा पैसाको नाममा कौडी पनि थिएन । नगद पैसा कसरी जम्मा गर्ने त भनेर, उनीहरुले समुहमा छलफल गरेर एउटा जुक्ति निकाले । त्यही जुक्तिले आज त्यस भेगका महिलाको जीवनमा कायापलट भएको छ भन्दा फरक पर्दैन । 
उनीहरुले निकालेको जुक्ति थियो : प्रत्येक दिन हरेक दिदीबहिनीले १ मुठी चामल छुट्टयाउने र महिनाभर जम्मा भएको चामल नजिकको बजारमा लगेर विक्री गरी आएको पैसाबाट सहकारी खोली त्यसमा बचत गर्ने । शुरुमा उनीहरुले जिल्ला महिला तथा बालबालिका कार्यालय, भैरहवाको सहयोगमा समुह गठन गरे र त्यसलाई नै पछि सहकारीको रुप दिए । तत्कालिन समयमा २६ जना सदस्य, २६ सय पुँजी र मासिक १० रुपैया बचत लिएर उनीहरुले सहकारी अगाडि बढाए । 

मासिक १० रुपैया बचत भनेको दैनिक ३० पैसा पर्न आउँथ्यो । हाल संस्थाकी अध्यक्ष सीता न्यौपाने सम्झिन्छिन् ‘अग्रज दिदीबहिनीहरुले त्यसबेला धेरै संघर्ष गरेर सहकारी जन्माएका रहेछन् । पुरुषप्रधान समाज भएकाले घरबाट बाहिर निस्कन समेत उनीहरुलाई त्यति सहज थिएन । तर विभिन्न बहाना बनाएर भएपनि २६ जना दिदीबहिनी एकैपटक घरबाट निस्केर सहकारी दर्ता गर्न जुटेछन् ।’

विगतलाई सम्झँदै उनले थपिन् ‘दैनिक १ मुठी चामल बेच्दा महिनाभरमा १० रुपैयाँ आम्दानी हुँदो रहेछ, त्यसैलाई मासिक बचत गरेर संस्था सञ्चालनमा आएको रहेछ ।’ शुरुका दिनमा सहकारीको सदस्य बनाउनका लागि गाउँटोलमा जाँदा दाजुभाइबाट ‘हाम्रा घरका चेलीबेटी पनि यिनीहरुले बिगार्ने भए’ भन्दै थुप्रै पटक अपहेलित भएको उनले बताइन् । विपन्न, न्यून आय भएका र सुकुम्बासीको बसोबास क्षेत्र भएकाले संस्थाको सदस्य बनाउन त्यति सहज थिएन । तर पनि निरन्तरको प्रयास, अथक मेहनत एवं धैर्यले मात्र आजको संस्था बन्न सकेको उनले बताइन् । बचत सानो भएकाले शुरुका दिनमा एक हजार रुपैया ऋण लिन पनि पालो कुर्नुपथ्र्यो । अहिले संस्थाको वित्तीय अवस्था बलियो भएसँगै सदस्यहरुले ५ लाख देखि ३० लाखसम्म ऋण पाउने गरेका छन् । सदस्यहरुले मासिक ५० देखि ५०० अनिवार्य बचत गर्ने गरेका छन् । हालसम्म आइपुग्दा संस्थामा २५२४ सदस्य र २४ करोड ३२ लाखको कारकोबार पुगेको छ । 

बालक्लब गठन

संस्थाले आमादिदीबहिनीको मात्रै नभएर बालबालिकाको भविष्यलाई पनि ध्यान दिएको छ । संस्थामा २१२२ जना बाल सदस्य रहेका छन् । उनीहरुले मासिक ५ रुपैयादेखि १०० सम्म बचत गर्न पाउँछन् । 

संस्थामा आवद्ध महिला सदस्य सुत्केरी हुनेवित्तिकै संस्थाको तर्फबाट ५०० रुपैया हालिदिएर शिशुको नाममा खाता खोलिदिने गरिएको छ ।  जन्मेदेखिनै बचतको बानी बसाल्न संस्थाले यस्तो योजना बनाएको हो । बालबालिकाको नाममा सानैदेखि थोरैतिनो बचत गर्दै जाँदा भविष्यमा राम्रो शिक्षा आर्जन गर्न समेत सघाउ पुग्ने र अभिभावकलाई भार नपर्ने संस्थाको बुझाई छ । 

व्यवसायिक खेतीमा सदस्यलाई जोड्दै

mahila alu.jpg

संस्थाले परम्परागत खेतीमा अभ्यस्त रहेका सदस्यहरुलाई क्रमशः व्यवसायिक खेतीमा जोड्न थालेको छ । व्यवसायिक खेती गरेमा मात्रै राम्रो आय आर्जन गर्न सकिने हुँदा सदस्यहरुलाई त्यसतर्फ आकर्षित गरिएको अध्यक्ष न्यौपाने बताउँछिन् । संस्थाले दिदीबहिनीभित्रको क्षमतालाई प्रष्फुटन गराउँदै आर्थिक रुपमा सबल बनाउन विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको छ । विशेषतः उनीहरुलाई तरकारी खेती, च्याउ खेती, आलु खेती, कुखुरापालन, बंगुरपालन, गाईपालनमा लाग्न उत्प्रेरित गरेको छ । संस्थाले गत वर्ष युएनडिपी र तिलोत्तमा नगरपालिकाको संयुक्त आर्थिक तथा प्राविधिक सहयोगमा आलु खेती परियोजना समेत सञ्चालन गरेको छ । परियोजना सञ्चालनका लागि संस्थालाई २ करोड ५२ लाख रकम प्राप्त भएको उनले जानकारी दिइन् । कोभिड १९ का कारण वैदेशिक रोजगारबाट फर्केका सदस्यहरुलाई आलु खेतीमा जोडी आय आर्जनमा सहयोग पु¥याएको उनले बताइन् । १७० मेट्रिक टन आलु उत्पादन गरी ९० मेट्रिक टन बीउका लागि स्टक गरेको संस्थाले जनाएको छ । संस्थामार्फत २० वटा समुहले आलुखेती, १७ समुहमार्फत तरकारी र १० वटा समुहले च्याउखेती गरेका थिए । 

सदस्यको जिवन स्तरलाई माथी उठाउने र उनीहरुलाई उद्यमी बनाउने संस्थाको योजना तथा कार्यक्रमलाई कृषि मैत्री बनाएको अध्यक्ष न्यौपानेले बताइन् । ‘कृषि उत्पादन गर्ने र व्यवसायिक गर्ने सदस्य क्रमशः बढ्दै गएका छन्’उनले भनिन् । अहिले धेरै कृषक व्यवसायिक भएको र कृषि उत्पादन नै सदस्यको पहिलो प्राथमिकता बनेको छ । 

आलुको उत्पादन राम्रो भएपनि बजारीकरणमा भने समस्या रहेको उनीहरुको अनुभव छ । खुल्ला सीमाका कारण सस्तो मुल्यमा आलु र बीउ आउने हुँदा स्थानीय किसानलाई समस्या पारेको छ । कृषि उपज बढाउन सकेपनि बजारकै समस्या मुख्य रहेको कृषकहरु बताउँछन् । 

नेतृत्व विकास र सामाजिक परिवर्तनमा अब्बल 

mahila group.jpg

संस्थाले आर्थिक कारोबारलाई मात्रै प्राथमिकता दिएको छैन, महिला सशक्तिकरणमा पनि संस्थाको भूमिका उत्तिकै रहेको छ । कुनै समय चुलोचौको र घाँसदाउरा गरेर बिताउने महिलाहरुमा संस्थाकै कारण चेतनाको स्तरमा निकै सुधार आएको छ । त्यसकै परिणामस्वरुप संस्थाका ४ जना सदस्य जनप्रतिनिधि समेत बनेका छन् । श्रीमतिका नाममा ऋण लिएर श्रीमान्हरुले व्यापार व्यवसाय गरी आर्थिक हैसियतमा उन्नति गर्दै गएकाले परिवारभित्र महिलामाथि गरिने व्यवहारमा समेत परिवर्तन आएको छ । 
संस्थाले वायोग्याँस प्लान्ट, सुलभ शौचालय निर्माण जस्ता कार्यमा समेत सघाएर सरसफाइ र स्वास्थ्यमा सुधार ल्याउन समेत उल्लेख्य भूमिका खेलेको छ । 

सम्मान एवं सदस्य राहत

संस्थाले विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ । नवदुलही प्रवेश, सुत्केरी भेटघाट, ज्येष्ठ सदस्यहरुलाई सम्मान संस्थाका नियमित कार्यक्रम हुन् । त्यसैगरी सदस्यहरुको मृत्युपश्चात् आश्रित परिवारलाई आर्थिक सहयोग स्वरुप २५ हजार रकम संस्थाले उपलब्ध गराउँदै आएको छ । विगतमा १० हजारका दरले आर्थिक सहयोग गर्दै आएको अहिले बढाएर २५ हजार पुर्‍याएको छ ।