शनिबार, आश्विन १७ गते २०८३

बाढीपहिरोले जलविद्युत क्षेत्रमा धक्का, एक हजार मेगावाट उत्पादन बन्द


आश्विन १२, २०८३ सोमबार
बाढीपहिरोले जलविद्युत क्षेत्रमा धक्का, एक हजार मेगावाट उत्पादन बन्द

 

काठमाडौं । केहि दिन देखिकाे निरन्तर वर्षासँगै आएको बाढीपहिरोले नेपालको जलविद्युत् उत्पादन र प्रसारण प्रणालीमा ठूलो क्षति पुर्‍याएको छ। नदीमा आएको अत्यधिक बहाव र प्रसारण संरचनामा क्षति पुग्दा गण्डकी प्रदेशका मात्रै होइन, विभिन्न प्रदेशका आयोजनासमेत प्रभावित भएका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार आइतबारसम्म करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

बाढीको सबैभन्दा ठूलो असर २२० केभी कालीगण्डकी कोरिडोर प्रसारण लाइनमा परेको छ। म्याग्दीको दानादेखि पर्वतको कुस्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेपछि उक्त लाइनबाट विद्युत् प्रवाह गर्ने १३ वटा उत्पादन केन्द्रका ३५८ मेगावाट विद्युत् उत्पादन रोकिएको छ। कुस्मा–नयाँ बुटवल खण्डमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ।

प्रसारण लाइन अवरुद्ध हुनुका साथै नदीमा पानीको बहाव अत्यधिक बढेपछि म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँका थप १४ वटा जलविद्युत् केन्द्रका करिब ६३० मेगावाट उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ। कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, माथिल्लो दोर्दी, माथिल्लो तथा मध्य मर्स्याङ्दीलगायत आयोजनाको उत्पादन प्रभावित भएको छ।

बाढीले केही दिनअघि मात्रै उत्पादन सुरु गरेको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमा समेत क्षति पुर्‍याएको छ। यससँगै १३२, ३३ र ११ केभीका प्रसारण तथा वितरण संरचनामा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ।

बाढीपहिरोका कारण मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङ पूर्ण रूपमा विद्युत्विहीन बनेका छन् भने प्युठान, रुकुमपूर्व र रोल्पामा समेत विद्युत् सेवा अवरुद्ध भएको छ। मधेशमा डुबानका कारण ७८ पोल र १४ वितरण ट्रान्सफर्मरमा क्षति पुगेको छ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको मर्मत तथा वैकल्पिक फिडरबाट विद्युत् आपूर्ति सञ्चालन गर्न प्राविधिक टोली परिचालन गरेको छ। सडकसमेत अवरुद्ध भएकाले केही प्रभावित क्षेत्रमा टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।