नेपालका मात्रै होइन जुनसुकै देशका पनि नदी–नाला केवल पानीका स्रोत मात्र होइनन् ती सबै देशका मानब सभ्यताका जीवनदायिनी शक्ति हुन् । त्यसै परिप्रेक्षमा हामीले नेपालका हिमाल, पहाड र तराईलाई जोड्ने प्राकृतिक जीवन–प्रणाली, कृषि, जैविक विविधता, ऊर्जा, संस्कृति र अर्थतन्त्रका आधारकारुपमा हाम्रा यहाँका नदी नाला र ताल तलैया र सीमिसारलाई लिनु पर्दछ र संरक्षण, सम्बद्र्धन र सदुपयोग गरिनु पर्दछ । वास्तवबमा नदी दिवसलाई औपचारिक दिवसका रूपमा मात्र मनाउनुको सट्टा नदीको संरक्षण, संवद्र्धन र न्यायपूर्ण सदुपयोगको राष्ट्रिय तथा अन्तर्राष्ट्रि बहससँग पनि यसलाई जोड्नु आवश्यक छ, हुन्छ ।,
नदी दिवस र नेपालका नदी–नालाको स्थिति
नेपालमा नदी संरक्षणको प्रश्नलाई तीनवटा अन्तरसम्बन्धित पक्षबाट बुझ्न सकिन्छ—संरक्षण, संवद्र्धन र सदुपयोग गर्नु तत्कालीन र दीर्घकालीन हिसावले पनि बैज्ञानिक र उपयोगी हुन्छ भन्ने कुरा धेरै जल बिज्ञ, बातावरण बिज्ञ र बिकास बिज्ञहरुले पनि बताउँदै आएका छन् । यी कुरामा गम्भीररुपमा ध्यान केन्द्रित गरेर तत्कालीन र दीर्घकालीन एबं प्रकृति–मैत्री सही र बैज्ञानिक नीति तर्जुमा र ठोस तथा प्रभावकारी कार्यान्वयमा ध्यान केन्द्रित गरिनु सर्बोपरी आवश्यकता बनेको छ ।
१. संरक्षण : नदीलाई केवल पानीको धाराका रूपमा नहेर्ने
नेपालका नदीहरू हिमनदी, हिमताल, वर्षा र भूमिगत जलस्रोतसँग जोडिएको जटिल जलाधार प्रणाली हुन्। कोशी, गण्डकी, कर्णाली, महाकालीदेखि बागमती, कमला, राप्ती, बबईलगायत नदीहरूले नेपालको भौगोलिक, आर्थिक र सामाजिक जीवन निर्धारण गर्छन् र गर्दै आएका छन्
तर अव्यवस्थित सडक निर्माण, वन विनाश, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन, फोहोर तथा ढल, अतिक्रमण, अव्यवस्थित बस्ती र जलवायु परिवर्तनका कारण नदी प्रणालीमाथि दबाब बढिरहेको छ। त्यसैले संरक्षणको अर्थ नदीको किनारमा केही वृक्षरोपण गर्नु मात्र होइन; सम्पूर्ण जलाधार, वन, माटो, भू–जल, सिमसार र नदीको प्राकृतिक बहावको निरन्तर संरक्षण हो।
२. संवद्र्धन : नदीको प्राकृतिक क्षमता पुनर्जीवित गर्ने
नदी संरक्षणसँगै नदीको स्वास्थ्य पुनस्र्थापित गर्नु अत्यावश्यक छ यसका लागि हामीले नदी तथा खोलाको प्राकृतिक बहाव कायम गर्ने,जलाधार क्षेत्रमा व्यापक वन तथा भू–संरक्षण गर्ने,नदीकिनार र बाढी क्षेत्रको वैज्ञानिक भू–उपयोग योजना बनाउने काम गर्नु सर्बोपरी आवश्यक छ । त्यसरी नै शहरहरुका ढल प्रशोधन गरेर मात्र नदीमा मिसाउने,नदी अतिक्रमण नियन्त्रण गर्ने काममा पनि उत्तिकै ध्यान दिनु र क्रियाशील हुन पनि उत्तिकै आवश्यक छ । नदीजन्य पदार्थको वैज्ञानिक र सीमित उत्खनन गर्ने,सिमसार तथा जलचर जैविक विविधता संरक्षण गर्ने,बाढी, पहिरो र हिमताल विस्फोटको जोखिमको पूर्वानुमान तथा पूर्वसूचना प्रणाली विकास गर्ने जस्ता काम हाम्रो जस्तो भू–बनौट भएको मुलुकमा अति नै आवश्यक छन् भन्ने कुरा त नेपालमा पछिल्लो हिम–चट्टान पहिरो स्खलनले पुर्याएको अपुरणीय जन धनको क्षति र बाढी पहिरोले पनि प्रष्ट पारिसकेको र पारिरहेकै छ ।
३. सदुपयोग : नदी जनताको जीवन र राष्ट्रिय विकासको आधार
नेपालको नदी सम्पदा जलविद्युत्, सिँचाइ, खानेपानी, कृषि, मत्स्यपालन, पर्यटन र औद्योगिक विकासका लागि अत्यन्तै महत्वपूर्ण आधार हो। तर सदुपयोगको अर्थ नदीमाथि जति सकिन्छ त्यति आयोजना थोपर्नु होइन।
हरेक जलविद्युत् वा अन्य नदी–आधारित परियोजनाको मूल्याङ्कन गर्दा ऊर्जा उत्पादनसँगै वातावरणीय प्रभाव, स्थानीय समुदायको अधिकार, विस्थापन, नदीको प्राकृतिक बहाव, जैविक विविधता, भूकम्पीय तथा बाढी जोखिम र दीर्घकालीन सामाजिक–आर्थिक लाभ हेर्नुपर्छ।

विशेषतः जलविद्युत् विकासमा एउटा मूल प्रश्न हुनुपर्छ—नदीबाट उत्पादित सम्पदाको लाभ कसले पाउँछ? स्थानीय जनता, राज्य र भावी पुस्ताको हित सुरक्षित नगरी प्राकृतिक स्रोतको उपयोगलाई दिगो विकास भन्न सकिँदैन।
माक्र्सवादी दृष्टिकोणबाट नदी नालालाई हेर्दा र यस्तो सारांस निस्कन्छ । यस माक्र्सवादी दृष्टिले नदी–नालाको प्रश्न केलाउँदा यसमा प्रकृति र मानव समाजबीचको सम्बन्धसँग जोडिन्छ। प्रकृतिलाई असीमित रूपमा दोहन गर्न सकिने वस्तु ठान्ने उत्पादन प्रणालीले अन्ततः प्रकृतिको पुनरुत्पादन क्षमतालाई कमजोर पार्छ। त्यसैले नदी संरक्षणलाई केवल वातावरणीय वा प्राविधिक प्रश्नका रूपमा होइन, उत्पादन सम्बन्ध, सम्पत्तिको स्वामित्व, राज्यको नीति र जनताको जीवनसँग जोडिएको सामाजिक प्रश्नका रूपमा हेर्नुपर्छ।
नदी कसैको निजी सम्पत्ति होइन; यो वर्तमान पुस्ता र भावी पुस्ताको साझा प्राकृतिक सम्पदा हो। त्यसैले जलस्रोतको नीति नाफा–केन्द्रित दोहनबाट जनहित, राष्ट्रिय हित, वातावरणीय न्याय र दीर्घकालीन सामाजिक आवश्यकतामुखी व्यवस्थापनतर्फ उन्मुख हुनुपर्छ।

यसको सारलाई स्पष्टरुस्पमा यसरी भन्न सकिन्छ कि हामीलेनदी बचाउनु भनेको पानी मात्र बचाउनु होइन; कृषि, खाद्य सुरक्षा, जैविक विविधता, जनजीवन, ऊर्जा, संस्कृति र भावी पुस्ताको भविष्य बचाउनु हो। त्यसैले नदी दिवसलाई एउटा दिवसमा सीमित नराखी “स्वस्थ नदी–सुरक्षित बस्ती–प्रकृतिमैत्री विकास–जनताको समृद्धि” को राष्ट्रिय अभियानमा रूपान्तरण गर्नु आजको सर्बोपरी आवश्यकता हो। हामीले बिग्रदो पर्यावरण, बढ्दो कार्बन उत्सजन र त्यसले पार्ने प्रकृति–बिरोधी प्रभाव र त्यसबाट हुने प्रकृतिको असन्तुलनबाट उत्पन्न भयावह प्राकृतिक प्रकोपलाई सधैं ध्यानमा राख्नु पर्दछ । प्रकृति प्रदत्त मानबकको साझा र बहुमूल्य श्रोतहरुलाई निजीकरण र बस्तुकरण गरेर बजारको बस्तु बनाउने गलत नीतिले आज पर्याबरण नराम्रोसँग असन्तुलित बनेर सोच्दै नसोचको स्तरमा प्राकृतिक प्रकोप आउन थालेको खतरनक स्थितिमाथि समयछँदै गम्भीर र सम्बेदनशील हुनै पर्दछ । अरु कुनै बिकल्प छैन भन्ने यथार्थ कुरा बुझ्नु अत्यन्तै जरुरी छ ।