काठमाडौं । सहकाली बचत तथा ऋण सहकारी संस्थाको १९औं साधारणसभा सम्पन्न भएको छ । संस्थाले सहकारी नियमन प्राधिकरणको साधारणसभा सम्बन्धी निर्देशनको पालना गर्दै सदस्यमाझ साधारण सभा सम्पन्न गरेको हो । संस्थाका उपाध्यक्ष मुकुन्दप्रसाद अधिकारीको सभापतित्वमा भएको सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८२/८३ अध्यक्षको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।
समुदायस्तरमा बचतको महत्वबारे जागरण फैलाउने उद्देश्यले १९ वर्षअघि सुरु भएको संस्थाले वित्तीय काराबारलाई घटाउँदै लगेको छ । आर्थिक वर्ष २०७८/७९ मा २ अर्ब ८ करोड कुल सम्पत्ति पुगेको संस्थाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तमा आइपुग्दा १ अर्ब ३ करोडमा सीमित गरेको छ । पछिल्लो समय सहकारी क्षेत्रमा आएको विचलन र बजारमा ठूलो वित्तीय कारोबार गर्दा जोखिम रहने भएकाले संस्थाले क्रमशः कारोबार घटाउँदै लगेको सभामा जानकारी दिइयो ।

अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उपाध्यक्ष अधिकारीले २०६४ असार ११ गते तत्कालीन सहकारी ऐन, २०४८ अनुसार डिभिजन सहकारी कार्यालय, काठमाडौंमा २८ जना सदस्यबाट शुरु भएको बता । सुरुवातमा ६ लाख ३९ हजार रुपैयाँ शेयर पुँजीबाट सुरु भएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ९ करोड ३७ लाख २३ हजार शेयरपुँजी रहेको छ । संस्थाको जगेडा कोषमा १६ करोड ९४ लाख १२ हजार रुपैयाँ रहेको छ । भने अन्य दायित्व ११ करोड ५१ लाख ६८ हजार रुपैयाँ रहेको छ । संस्थाले असार मसान्तसम्म बचत संकलन ६५ करोड ७५ लाख ३६ हजार रुपैयाँ गरी ८० करोड ३ लाख रुपैया ऋण लगानी गरेको छ ।
संस्थाले क्रमशः बचत संकलन र ऋण लगानी घटाउँदै लगेको जनाएको छ । गत असार मसान्तसम्म संस्थाको कुल कारोबार १ अर्ब ३ करोड ५८ लाख ४० हजार रुपैयाँ पुगेको छ। संस्थामा हाल २ हजार ८२५ शेयर सदस्य रहेका छन्।
अध्यक्षको प्रतिवेदन अनुसार पछिल्ला पाँच–छ वर्षमा सहकारी क्षेत्रमा देखिएको तरलता संकुचनलगायतका समस्याका कारण संस्थाको यात्रा चुनौतीपूर्ण बनेको उल्लेख छ । तर सदस्यको सहयोग, सञ्चालकको धैर्यता र व्यवस्थापनको सुझबुझपूर्ण नगद व्यवस्थापनका कारण करिब ४ हजार बचतकर्ताको माग सम्बोधन गर्न संस्था सफल भएको प्रतिवेदनमा जनाइएको छ। अहिलेको अवस्थामा शेयरधनीलाई नाफा वितरण गर्नुभन्दा बचतकर्तालाई आर्थिक संकटबाट सुरक्षित राख्न सक्नु नै संस्थाको प्राथमिकता रहेको जानकारी सभामा दिइयो ।
सभामा कोषाध्यक्षको प्रतिवेदन किशोर बस्नेत र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक कुमार प्रस्तुत चालिसेले प्रस्तुत गरेका थिए । कोषाध्यक्ष बस्नेतले चालु आर्थिक वर्षमा बचत संकलन र ऋण लगानी घटाएर ५० ५० करोडमा सीमित गने लक्ष्य रहेको जानकारी दिए । संयोजक चालिसे समितिले दिएका यस अघिका सुझावहरु अवलम्बन हुँदै गरेको जनाउँदै संस्थाको मुख्य ब्यवसाय नै बचतऋण रहेकाले ऋण सापटी असुलीमा ध्यान दिन सुझाव दिए ।

नेपालपत्र संवाददाता