काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवा प्रदायकमार्फत सञ्चालन हुने वालेट खातामा राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षणसम्बन्धी सूचनाअनुसार वालेट प्रयोगकर्ताको पहिचान तथा विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने व्यवस्था अघि बढाइएको हो।
राष्ट्र बैंकका अनुसार अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकिन गरेर मात्र वालेट खाता खोल्नुपर्नेछ। साथै, वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण नभएमा सम्बन्धित प्रयोगकर्ताबाट स्वघोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचयपत्र लिइसकेका नेपाली नागरिकले भने २०८३ असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्नेछ।
राष्ट्रिय परिचयपत्र लिन नसकेका नेपाली नागरिकका हकमा पनि ग्राहक पहिचानसम्बन्धी व्यवस्था गरिएको छ। त्यस्ता नागरिकको पहिचान अद्यावधिक गर्न सम्बन्धित वालेट प्रयोगकर्तालाई मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट प्रत्येक महिना जानकारी दिने व्यवस्था मिलाउन भुक्तानी सेवा प्रदायकलाई भनिएको छ।
विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले पनि वालेट खाता खोल्न सक्नेछन्। उनीहरूले अनलाइन माध्यमबाट राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरका साथै आवश्यक अन्य कागजात उपलब्ध गराएर वालेट खोल्न सक्नेछन्। तर, यसरी वालेट खोलेका व्यक्ति नेपाल फर्किएको अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायकले ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्नेछ।
त्यस्तै, आफ्नो हेरचाह आफैं गर्न नसक्ने, अशक्त तथा असहाय नागरिकका लागि पनि सहजीकरण गरिएको छ। त्यस्ता नागरिकले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बरबाहेकका आवश्यक कागजातसमेत पेश गरी वालेट खाता खोल्न र कारोबार गर्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले वालेट प्रयोगकर्तालाई आफ्नो विवरण समयमै अद्यावधिक गर्न आग्रह गरेको छ।
नेपालपत्र संवाददाता