शनिबार, आश्विन १७ गते २०८३

नेपालको संविधान स्थानीय उपयोगिता अनुकूल हुनुपर्छ: सर आईभर जेनिङ्स्


आश्विन ५, २०८३ सोमबार
नेपालको संविधान स्थानीय उपयोगिता अनुकूल हुनुपर्छ: सर आईभर जेनिङ्स्
सर विलियम आईभर जेनिङ्स् (१९०३–१९६५) बेलायतका प्रख्यात संविधानविद् हुन् । उनले क्याम्ब्रिज विश्वविद्यालय र श्रीलंकाको सिलोन विश्वविद्यालयमा उपकुलपतिका हैसियतले काम गरे । नेपालको पहिलो प्रजातान्त्रिक संविधान २०१५ बनाउने क्रममा गठित ५ सदस्यीय संविधान मस्यौदा आयोगलाई सल्लाह र गाईड गर्न भनी राजा महेन्द्रको आग्रहमा उनलाई बेलायतको विदेश मन्त्रालयले काठमाडौँ पठाएको थियो ।
उनले काठमाडौँमा रहँदा दिएको सुझाबको एउटा अंश हो माथिको विचार, जसको पूर्ण रुप, “नेपालको संविधान स्थानीय उपयोगिता अनुकूल हुनुपर्छ, प्रत्येक प्रावधान स्थानीय परिस्थितिसँग सम्बन्धित हुनुपर्छ । एशिया र अफ्रिकाका अन्य देशहरूमा संविधान तयार गर्न दिईएको सल्लाह नेपालको स्थानीय परिस्थितिले गर्दा उपयोगी हुनसक्दैन” (राजनीतिक दर्पण, भाग १, तृतीय संस्करण २०५८, पृ.५२७) ।
‘पन्ध्र सालको संविधानको गोप्यपत्र’ शीर्षकमा त्रिविका प्राध्यापक, अनुसन्धाता डा. रमेश ढुङ्गेल लेख्छन्, “उनले झन्डै एक महिनाजति (२७–२८ दिन) नेपालमा बसेर तीन पटकसम्म संविधानको छुट्टाछुट्टै मस्यौदा तयार गरी राजा, सरकार र दलहरूलाई बुझाएका थिए। उनी माल्टा हुँदै २८ मार्च १९५८ मा काठमाडौं अवतरण गरी २४ अप्रिलसम्ममा संविधान मस्यौदाको काम सकी २४ घन्टाका निम्ति दिल्ली हुँदै २६ अप्रिलमा बेलायत पुगेका थिए ।
“जेनिङ्सले तयार पारेको मस्यौदाको पछिल्लो रूपलाई स्विकारिए पनि आवश्यकता हेरेर त्यसमा संशोधन गर्न आयोगलाई छुट दिएको कुरा उनैले व्यक्त गरेको पाइन्छ । उनले बुझाएको संविधानको कुनै पनि मस्यौदा पूरै पढेर राजा बुँदाबुँदामा छलफल गर्न टिपोटसहित प्रस्तुत हुन्थे । यसको ठिक उल्टो सरकार र मन्त्री, पार्टी र आयोगका पदाधिकारीहरू भने राजा जसरी तुरुन्तै पढेर तयार भएका हुँदैनथे ।
‘ज्यादै दुर्भाग्यपूर्ण अवस्था आउन सक्छ’ भन्ने जेनिङ्सको बुझाइमा नेपालमा गणतन्त्रको घोषणा हुनुपर्ने स्थिति पनि आउन सक्छ भन्नेतर्फ संकेत गरेको देखिन्छ, किनभने उनको टिपोटमा काठमाडौंका शिक्षित युवा समुदायमा गणतन्त्रको भावना बिस्तारै बढ्दै गएको र दरबारभित्र चाहिँ एउटा भित्री समूह आम चुनाव नै गर्न दिनु हुन्न भन्ने र अर्काेचाहिँ चुनावले दरबारलाई घाटाभन्दा बलियो बनाउन नै मद्दत पुर्याउँछ भन्ने सोचमा थिए भन्ने कुरा उल्लेख छ ।
जेनिङ्सले सुनेअनुसार त्यसबेलाका १५ राजनीतिक दलमध्ये धेरैजसोलाई चुनावले कमजोर बनाउनेछ भन्ने दरबारभित्रका एकथरीको विश्वास थियो । चुनावका विषयमा पनि राजा त्यति स्पष्ट हुन नसकेको अवस्था थियो त्यो ।
उनले राजाको मात्र विचार निरन्तर आइरहने हुँदा राजाको अधिकार सोचेभन्दा धेरै हुनपुगेको र यदि कारणवश संवैधानिक असफलता भएमा राजा निरंकुश हुन सक्ने सम्भावनाको संकेत पनि गरेका छन् । एक महिनाभन्दा कम अवधिको काठमाडौं बसाइको मात्र अनुभवले उनले गरेको संविधानको मस्यौदाले गाउँको वास्तविक अवस्थालाई छुन नसकेको पनि हुनसक्छ भन्दै यस कुरामा उनी त्यति विश्वस्त देखिएका छैनन् ।”
“भारतका तात्कालिक अधिकारीहरू नेपालमा संविधान मस्यौदाका निम्ति भएको जेनिङ्सको नियुक्तिदेखि असन्तुष्ट रहेको उनको विवरणबाट बुझिन्छ । उनीहरूका दृष्टिमा नेपालमा संविधान मस्यौदा गर्ने काममा भारतले नै विशेषज्ञ पठाउन सक्थ्यो वा भारत र बेलायत दुवै देशबाट पठाउने व्यवस्था हुन सक्थ्यो भन्ने थियो ।” (रमेश ढुङ्गेल, कान्तिपुर, २०६८ कार्तिक २६ शनिबार)।