शनिबार, आश्विन १७ गते २०८३

उत्थानशील डिजिटल प्रणाली निर्माण आवश्यक: सञ्चारमन्त्री तिमिल्सिना

आश्विन ४, २०८३ आइतबार
उत्थानशील डिजिटल प्रणाली निर्माण आवश्यक: सञ्चारमन्त्री तिमिल्सिना


सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालले केवल डिजिटल रूपान्तरणमा केन्द्रित नभई उत्थानशील (रेजिलेन्स) डिजिटल प्रणाली निर्माण गर्नुपर्ने बताएका छन् । डिजिटल नेपाल कन्क्लेभ २०२६ लाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले पछिल्ला विपद्का घटनाले संकटका बेला सूचना, सञ्चार र तथ्याङ्कको महत्त्व पूर्वाधारजत्तिकै हुने देखाएको बताए । 

उनले विपद्का समयमा सडक तथा अन्य भौतिक संरचना अवरुद्ध भए पनि सञ्चार र सूचना प्रवाह निरन्तर रहन आवश्यक रहेको बताए । उनले भने, ‘ धेरै वर्षदेखि हामीले डिजिटल रूपान्तरणका विषयमा कुरा गर्दा मुख्यतया कार्यदक्षता, सहजता र आधुनिकीकरणका रूपमा मात्र चर्चा गर्‍यौँ। प्रविधिले सरकारी सेवाहरूलाई कसरी छिटोछरितो बनाउन सक्छ, व्यवसायहरूलाई कसरी बढी उत्पादनशील बनाउन सक्छ र नागरिकहरूलाई कसरी अझ बढी जोड्न सक्छ भन्ने कुरामा छलफल गर्‍यौँ। ती लक्ष्यहरू पक्कै पनि महत्त्वपूर्ण नै छन् । तर पछिल्ला केही हप्ताका घटनाहरूले हामीलाई के सम्झाइदिएका छन् भने, डिजिटल रूपान्तरण यतिमा मात्र सीमित हुनु हुँदैन, योभन्दा धेरै हुनुपर्छ । नेपाललाई केवल डिजिटल रूपान्तरण मात्र होइन, उत्थानशील डिजिटल रूपान्तरण चाहिएको छ ।’

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी तथा विपत्तिले जनधनको क्षति, समुदाय विस्थापन र पूर्वाधारमा क्षति पुर्‍याएको उल्लेख गर्दै उनले सरकार उद्धार, राहत, पुनर्लाभ, पुनस्र्थापना तथा पुनर्निर्माणमा संलग्न रहेको बताए । उक्त विपत्तिबाट सूचना प्रणाली, सञ्चार सञ्जाल, सरकारी निकायबीचको समन्वय र विपद् प्रतिकार्यका लागि आवश्यक पूर्वतयारीको समेत परीक्षण भएको उनको भनाइ थियो । 

उनले भने, ‘भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी विपत्तिले हाम्रो राष्ट्रमा गहिरो चोट पुर्‍याएको छ । जनधनको क्षति, समुदायहरूको विस्थापन, पूर्वाधारको विनाश र अनिश्चितताका बीच जवाफ खोजिरहेका परिवारहरूलाई प्रत्यक्ष देख्यौँ। सरकारका रूपमा उद्धार, राहत, पुनर्लाभ र अहिले पुनस्र्थापना तथा पुनर्निर्माणको लामो प्रक्रियामा संलग्न छौँ । तर यस विपत्तिका बीच हामीले केही महत्त्वपूर्ण पाठहरू पनि सिकेका छौँ । संकटको समयमा सूचना पनि पूर्वाधार जत्तिकै महत्त्वपूर्ण बन्दछ ।’  

उनले संकटका समयमा डिजिटल प्रणालीले नागरिकलाई निरन्तर सेवा दिनसक्ने, सरकारले प्रभावकारी रूपमा सञ्चार गर्न सक्ने, सरकारी निकायले वास्तविक समयमा समन्वय गर्न सक्ने तथा अत्यावश्यक सेवा र सूचना नागरिकसम्म पुर्‍याउन सक्ने व्यवस्था आवश्यक रहेको बताए । सत्यभन्दा छिटो भ्रम फैलिन सक्ने अवस्थामा तथ्य र हल्लाबीचको भिन्नता छुट्याउन सक्ने सूचना प्रणालीको आवश्यकता पनि उनले औँल्याए ।