ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सहकारी संस्थाले बचत संकलन र ऋण लगानीमा मात्र केन्द्रित नभई उत्पादन, उद्योग, व्यवसाय र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको पाँचौँ ललितपुर साकोस समिटको उद्घाटन गर्दै मुख्यमन्त्री थापाले सहकारीको सिद्धान्त र मूल्य अनुसार संस्था सञ्चालन हुन नसक्दा पछिल्लो समय सहकारी क्षेत्रमा समस्या देखिएको बताएका हुन् ।
उनले सहकारीकर्मीले आफ्नो पहिचान लुकाउनुपर्ने अवस्था आउनु गम्भीर विषय भएको उल्लेख गर्दै संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा र बचत तान्न ब्याजदरमा गरिएको होडबाजीले पनि समस्या निम्त्याएको बताए । “सहकारीको सिद्धान्त अनुसार संस्था सञ्चालन हुन नसक्दा अहिले समस्या आएको छ,” उनले भने, “बचत तान्न ब्याजदरमा गर्ने होडबाजीले सहकारी क्षेत्रलाई थप जोखिममा पुर्यानुका साथै साथै घर जग्गा लगायत अनुत्पादनशील क्षेत्रमा ऋण लगानी गर्दा पनि समस्या आयो ।”
मुख्यमन्त्री थापाले सहकारी संस्थालाई व्यवस्थित र जिम्मेवार ढंगले सञ्चालन गर्न सहकारी संघहरूले नियमित रूपमा तालिम, शिक्षा तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । सहकारी क्षेत्रलाई आफूले अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिएको उल्लेख गर्दै उनले संस्थाको दर्ता गर्ने तर प्रभावकारी नियमन र अनुगमन नगर्ने विगतको अभ्यासले पनि समस्या निम्त्याएको बताए ।
सहकारी क्षेत्र सुधारका लागि आवश्यक ऐन–कानुन संशोधन गर्न प्रदेश सरकार तयार रहेको उनको भनाइ छ । सहकारी अभियानबाट प्राप्त सुझावका आधारमा बचत तथा ऋण सहकारीलाई व्यवस्थित बनाउन कानुनी सुधार आवश्यक भए त्यसका लागि आफू तयार रहेको उनले प्रतिबद्धता जनाए ।
आफू पनि सहकारी अभियानसँग जोडिएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले सहकारीमार्फत रोजगारी सिर्जना गर्दै समाजको आर्थिक रूपान्तरण गर्ने उद्देश्यले आफू यस क्षेत्रमा लागेको बताए । तर पछिल्लो समय सहकारीप्रतिको विश्वास कमजोर बनेको उनको भनाइ थियो । “सदस्यलाई विश्वास दिलाउन नसक्दासम्म सहकारी क्षेत्रलाई माथि उठाउन सकिँदैन,” उनले भने ।
उनले विगतमा धेरै सहकारीले घरजग्गालगायतका क्षेत्रमा ऋण लगानी गरेका कारण वित्तीय समस्या देखिएको बताए । अब भने सहकारीको ऋण उत्पादनशील क्षेत्र, उद्योग, व्यवसाय र रोजगारी सिर्जना हुने क्षेत्रमा प्रवाह गर्नुपर्नेमा उनले जोड दिए ।
संविधानले सहकारीलाई अर्थतन्त्रका तीन खम्बामध्ये एकका रूपमा स्वीकार गरेको स्मरण गराउँदै मुख्यमन्त्री थापाले सोही भूमिकाअनुसार सहकारीका गतिविधि अघि बढाउन आग्रह गरे । “सहकारीले संविधानले दिएको भूमिकाअनुसार उत्पादन र रोजगारी सिर्जनामा योगदान गर्नुपर्छ,” उनले भने ।
मुख्यमन्त्री थापाले बागमती प्रदेश सरकारले सहकारी क्षेत्रको सुधार र प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने बताए । सहकारी अभियानलाई माथि उठाउन सरकार र अभियानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका व्यावहारिक समस्या पहिचान गरी समाधान खोज्नुपर्ने बताए ।
यसैबीच, रसुवाको भोटेकोशीमा आएको बाढीका कारण बागमती प्रदेशमा ठूलो क्षति भएको उल्लेख गर्दै मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रको पुनःनिर्माण र पुनःस्थापना सरकारका लागि चुनौती बनेको बताए । तीन तहका सरकार आ–आफ्नो जिम्मेवारीका साथ उद्धार तथा पुनःस्थापनामा लागिरहेको उल्लेख गर्दै उनले विपद्पछिको पुनःनिर्माणमा सहकारी क्षेत्रको समेत सहयोग अपेक्षित रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष खेमबहादुर पाठकले ललितपुर बचत तथा ऋण सहकारी संघ बलियो भएकै कारण समिट आयोजना गर्न सम्भव भएको बताए । दुईदिने समिटबाट निस्कने निष्कर्षले मुलुकभर सहकारी अभियानलाई सकारात्मक सन्देश दिनुपर्ने उनको भनाइ थियो ।
सहकारी संस्थामा आवश्यक ज्ञान, वित्तीय पारदर्शिता, सक्षम सञ्चालक तथा कर्मचारी र प्रभावकारी लेखा समितिको अभावले समस्या देखिएको उनले बताए । सहकारी शिक्षा प्रत्येक सञ्चालक र सदस्यका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । सरकारले सहकारी दर्ता गरे पनि प्रभावकारी नियमन गर्न नसक्नु समस्या भएको बताउँदै पाठकले समयअनुकूल कानुन निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । सहकारी अभियानले आफ्ना कमजोरीसमेत स्वीकार गरी सुधार गर्न सके सरकारसँगको सम्बन्ध पनि थप प्रभावकारी बन्ने उनको भनाइ थियो ।
समिटमा शुभकामना मन्तव्य राख्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक डा.परितोष पौडेलले नेफ्स्कूनपछि बचत ऋण अभियानको हकमा ललितपुर बचत संघ पहिलो संघ भएको बताए । अभियान दर्शन र सिद्धान्तबाट निदिष्ट हुने भन्दै त्यसलाई व्यवहारिकतामा लैजान सम्मेलनले सहयोग पुग्ने उनले बताए । आइसिएले यो बर्षको थिम शान्तिको पुल सहकारीलाई लिएको भन्दै मुलुकलाई शान्ति र समृद्धिमा लैजाने काम सहकारीले गर्नुपर्नेमा उनले जोड दिए ।
सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने भन्दा पनि निषेध गर्ने ढंगले सरकार अगाडि बढेको भन्दै उनले त्यसलाई सच्याउन माग छ । सयुक्त राष्ट्र संघले सन् २०२३ मा अघि सारेको विषयलाई पुरा गर्न सरकारले सहयोग गर्नुपर्नेमा अभियानसँग छलफल नगरी कानुन बनाउनुले सरकार फरक बाटोबाट अघि बढेको भन्दै त्यसप्रति आपति जनाए । अभियानलाई आदर गर्ने र सुरक्षा दिने विषयमा सरकारले ध्यान दिँदैन भने अभियान एक भएर जानुको विकल्प नभएको उनले बताए । सन्दर्भ ब्याजदर संस्थाहरुको आन्तरिक विषय भएको भन्दै एक पटक तय गरिएको ब्याजदर लामो समय रहन नुहने उनको जोड छ । सहकारीमा शुसासन कायम गर्दै मुलुकको अभियानलाई नै सिकाउने गरी ललितपुरको बचत ऋण अभियानलाई अगाडि बढाउन उनको सुझाव छ ।
त्यसैगरी बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले साकोस समिट ललितपुर जिल्ला बचत संघले सुरु गरेको भए पनि अहिले धेरै जिल्लाहरुले साकोस समिट गर्न थालेको बताए । पछिल्लो समय अभियानले सरकारसँगको लविङ्ग कमजोर भएको भन्दै कमजोरी भएको स्वीकार गर्नुपर्छ तर सधै हेपिएरे बस्न नहुनेमा उनको जोड दिए । कोभिड १९ पछि सहकारीमा समस्या आएको र तयसपछि सबै सबै पक्षबाट प्रहार हुन थालेको उनले जनाए । ऐन कानुनले बाध्दै जाने हो भने मुलुकमा २ \३ हजार सहकारी संस्था मात्र टिक्न सक्ने उनले बताए । सहकारीको नियामक धेरै भएको र यसले अभियानमाथि हस्तक्षेप बढाउँदा सञ्चालन हुन गाह्रो हुने उनको जिकिर छ । अभियानमा भएको कमजोरीलाई सुधार गर्न जिल्ला तहसम्म जागरण अभियान चलाउनु पर्ने भन्दै यो क्षेत्रलाई व्यवस्थित गर्न सबै पक्ष मिलेर जान उनले सुझाए । नीति नियम बन्ने तर कार्यान्वयनको अवस्था कमजोर रहेको भन्दै त्यसको नेतृत्व ललितपुर बचत संघ लिन उनले सुझाए । समिटले सहकारी क्षेत्रमा नयाँ आशाको सञ्चार गर्ने र सहकारीकर्मीमा थप उर्जा प्रदान गर्ने उनको विश्वास छ ।
समिटमा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी मुल्य, मान्यता र विश्वव्यापी सिद्धान्त विपरित संघहरुले कारोबार गर्न नपाउने व्यवस्था ऐनले गरेकोप्रति आपति जनाए । उनले सहकारी रजिष्ट्रार कार्यालयले फेडरेशनलाई कमजोर बनाउने गरी निर्देशन जारी गरेको भन्दै यसले अभियान कमजार बनाउने उल्लेख गरे ।
उनले संघहरुले गर्दै आएको वित्तीय कारोबारलाई तीन बर्षमा व्यवस्थापन गर्न नसकिने बताए । सहकारी संघ संस्थालाई राज्यले हेर्ने दृष्टिकोण गलत भएको भन्दै उनले लघुवितसँग सहकारीलाई तुलना गर्न नमिल्ने दावी गरे । सहकारीलाई हात खुट्टा बाधेर सञ्चालन हुने गरी सरकारले कानुन ल्याएको भन्दै यो विषयमा समिटमा गम्भिर रुपमा छलफल गर्न आवश्यक रहेको उनको भनाई छ । सहकारी क्षेत्रमा देखिएको समस्याको समाधानको खोजी आगामी दिनको लागि नयाँ बाटो तय समिटले गर्नु पर्नेमा उनको जोड छ । सन्दर्भ ब्याजदर परिवर्र्तन गर्दा एकल अंकमा ल्याउनु पर्ने भन्दै उनले सेवा शुल्क लिन नपाउने विषयमा भने फरक मत राखे ।
काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष दिपक पनेरुले समिटले सहकारी क्षेको अप्ठ्यारोलाई चिर्दै अभियानलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । पछिल्लो समय सहकारी क्षेत्रमा धेरै चुनौती र प्रश्नहरु उठेको भन्दै अभियानमाथि उठेको अविश्वासलाई सबै मिलेर चिनुपर्नेमा उनको जोड छ । पवित्र उदेश्य बोकेको सहकारी क्षेत्रलाई सही गतिमा अगाडि बडाई समाज रुपान्तरणमा लगाउनु पर्नेमा उनको जोड छ ।
संघका अध्यक्ष बजगाईले समिट आयोजना गर्नुको उदेश्य माथि प्रकाश पार्दै ललितपुर जिल्लाका सहकारी संस्थालाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको बताए । उनले अन्तर्राष्ट्रिय सहकारी बर्ष सन् २०१२ को अवसरमा पहिलो पटक ललितपुरमा सम्मेलन आयोजना गरिएको स्मरण गरे । संघ स्थापनाको ३३ औं बर्षमा प्रवेश गरेको भन्दै संघको वित्तीय सुचाङ्कहरु बलियो रहँदा रहँदै पनि ऐनले संघहरुले बचत ऋणको कारोबार गर्न नपाउने व्यवस्था गरेकाले वित्तीय कारोबार घटाउँदै लगेको बताए । उनले विगतमा अन्तर लगानी कारोबारलाई बढुवा दिएको भए पनि अब संस्थाहरुलाई स्तरीकरण कार्यक्रम मार्फत् बलियो संस्था बनाउन संघ लागि परेकोे बताए । त्यसका लागि संघले अम्ब्रेला कार्यक्रम सञ्चालनमा ल्याएको र पहिलो बर्ष ४० संस्थालाई सहभागि गराउने उनको भनाई छ । सहकारीका समस्या थुनेर समाधान नहुने भन्दै संस्था सञ्चालन गर्ने वातावरण सरकारले बनाउनु पर्नेमा उनको जोड छ ।
बजारमा तीन प्रकारका सहकारी रहेको र कतिपयले जानेर तथा कतिपयले अन्जानमा संस्था सञ्चालन गर्दा समस्या आएको अध्यक्ष बजगाईले जनाए । १ सय ५० प्रारम्भिक सहकारी संस्थाका प्रतिनिधि सहभागी रहेको र सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानका विषयमा समेत छलफल हुने हुँदा समिट फलदायी हुने उनले सुनाए । सहकारी क्षेत्रको समस्यालाई समाधान गरी वित्तीय रुपमा पारदर्शिता कायम गरी संस्था सञ्चालन गर्नुपर्ने उनको भनाई छ । समिटमा सामुहिक छलफलको सत्र समेत राखिएकाले आफुले झेल्नु परेका समस्याका बोरमा खुलेर प्रश्न राख्न उनको आग्रह छ । सहकारी क्षेत्रमा ऋण असुली मुख्य समस्या रहेको, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, ऋण असुली न्यायाधिकरण, संघ , प्रदेश र स्थानीय सहकारी क्षेत्रलाई कसरी हेरिाखेको छ भन्ने जस्ता विषयमा समेत खुल्ला छलफल हुने भएकाले सक्रियताका साथ सहभागी हुन सबैलाई उनको आग्रह छ ।
समिटको थिम दिगो साकोस अभियानः प्रविधि रुपान्तरण र हस्तान्तरण भन्ने रहेको छ । संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै २०६९ सालमा पहिलो पटक साकोस समिट धुलिखेलमा आयोजना गरिएको बताए । २०६९ सालमा साकोस समिट गर्दा जुन उत्साह थियो, त्यो उत्साह पाँचौ साकोस समिटसम्म आइपुग्दा घट्दै गएको उनको भनाई छ । तर सहकारी संस्थामा आवद्ध सदस्यहरुको आर्थिक तथा सामाजिक रुपान्तरणमा लागि जस्तोसुुकै परिस्थितिमा पनि लागि रहन र सहभागीहरुलाई हार नमान्न उनले आग्रह गरे । साकोस अभियानलाई गन्तव्यमा पुर्याउन र परिवर्तित समयमा यसको क्षेत्रको बारेमा जानकारी दिई अभियानलाई गति दिन समिटले सहयोग पुग्ने विश्वास उनले लिए ।
भोलीसम्म सञ्चालन हुने समिटमा विभिन्न सात फरक फरक विषयमा कार्यपत्र प्रस्तुत हुनुका साथै सामुहिक सत्रमा छलफल समेत हुनेछ । कार्यक्रमको सञ्चालन सचिव श्यामकृष्ण महर्जनले गरेका थिए भने महिला उपाध्यक्ष लक्ष्मी शाक्यले धन्यवाद ज्ञापन व्यक्त गरेकी थिइन् ।

नेपालपत्र संवाददाता