शनिबार, आश्विन १७ गते २०८३

सम्पर्कविहीन कर्मचारीका परिवारलाई विद्युत् प्राधिकरणको राहत


आश्विन १, २०८३ बिहीबार
सम्पर्कविहीन कर्मचारीका परिवारलाई विद्युत् प्राधिकरणको राहत

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीमा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउने भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले सम्पर्कविहीन स्थायी कर्मचारी, ज्यालादारी तथा करारका कामदारका नजिकका हकवालालाई तत्काल राहतस्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणअन्तर्गत बाढीका कारण ४७ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन छन् । बाढीबाट प्राधिकरणका १३ वटा जलविद्युत् आयोजनामा समेत क्षति पुगेको छ। 

सम्पर्कविहीन स्थायी कर्मचारीका नजिकका हकवालालाई अर्को निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम निर्वाहस्वरूप उपलब्ध गराउने निर्णयसमेत भएको छ।