शनिबार, आश्विन १७ गते २०८३

साकोस अभियानले पायो अन्तर्राष्ट्रिय पहिचान, अकुकाे द्वितीय उपाध्यक्षमा ढकाल


आश्विन १, २०८३ बिहीबार
साकोस अभियानले पायो अन्तर्राष्ट्रिय पहिचान, अकुकाे द्वितीय उपाध्यक्षमा ढकाल

 

काठमाडौं। नेपालको बचत तथा ऋण सहकारी (साकोस) अभियानले अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एशियाली ऋण महासंघ (अकु) को साधारणसभासहितको (अकु फोरम २०२६) मा नेपालको दुई साकोसले एक्सेस ब्राण्ड प्राप्त गर्नुका साथै नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल महासंघको द्वितीय उपाध्यक्षमा चयन भएका छन् ।

सेप्टेम्बर ७ देखि १३ सम्म आयोजित फोरममा २२ देशका करिब ६०० प्रतिनिधिको सहभागिता रहेको थियो । नेपालबाट सहभागी दुई संस्थामध्ये रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक्सेस सिल्भर र नवलपुरको मध्यनेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक्सेस ब्रोन्ज स्तर प्राप्त गरेका हुन् ।

एशियाली ऋण महासंघको ४५औँ साधारणसभाले सन् २०२६ देखि २०२८ सम्मका लागि नयाँ सञ्चालक समिति चयन गरेको छ । सेप्टेम्बर १३ मा क्वालालम्पुरमा सम्पन्न साधारणसभाबाट अध्यक्ष ढकाल द्वितीय उपाध्यक्षमा चयन भएका हुन् । नेपालको साकोस अभियानको प्रतिनिधित्व गर्दै ढकाल महासंघको नेतृत्व संरचनामा पुगेका हुन् । नयाँ सञ्चालक समितिमा दक्षिण कोरिया, थाइल्यान्ड, नेपाल, फिलिपिन्स र ताइवानको प्रतिनिधित्व रहेको छ भने इन्डोनेसिया र श्रीलंकाबाट वैकल्पिक सञ्चालक चयन भएका छन् ।

अन्तर्राष्ट्रिय उपलब्धि, नेतृत्व सहभागिता र आगामी सहकार्यबारे जानकारी दिन नेफ्स्कूनले काठमाडौंमा आयोजना गरेको प्रेस मिटमा महासचिव घनश्याम अधिकारीले स्वागत गरेका थिए । कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले नेपालको साकोस अभियानले पछिल्लो समय हासिल गरेका अन्तर्राष्ट्रिय उपलब्धि, एक्सेस कार्यक्रम, संस्थागत गुणस्तर, अन्तर्राष्ट्रिय सहकार्य तथा अभियानको आगामी दिशाका विषयमा प्रस्तुति दिएका थिए । प्रस्तुतिका क्रममा नेपालको साकोस अभियानले अन्तर्राष्ट्रियस्तरमा संस्थागत क्षमता, गुणस्तर सुनिश्चितता र नेतृत्व सहभागितामार्फत आफ्नो पहिचान विस्तार गर्दै गएको जानकारी दिइएको थियो ।

रसुवाका बाढीपीडित साकोसलाई अन्तर्राष्ट्रिय सहयोग

यसैबीच, रसुवाको भोटेकोशी बाढीबाट प्रभावित साकोसहरूको पुनःस्थापना तथा पुनरुत्थानका लागि दक्षिण कोरियाली केन्द्रीय बचत संघले ५० हजार अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको नेफ्स्कूनले जानकारी दिएको छ । एशियाली ऋण महासंघको साधारणसभासँगै आयोजित कार्यशालामा सहभागी सात देशका ३२ जनाले समेत बाढीपीडित साकोसका लागि सहयोग संकलन गरेका थिए । संकलित रकम नेफ्स्कूनका सिइओ सापकोटालाई हस्तान्तरण गरिएको थियो । नेफ्स्कूनका अनुसार नेपालका लागि अन्तर्राष्ट्रिय सहकारी महासंघ, विश्व ऋण परिषद्लगायतका अन्तर्राष्ट्रिय संस्थाबाट थप सहयोग जुटाउने प्रयास भइरहेको छ।

nefscun meet 1.jpeg

जनउत्थानलाई एक्सेस सिल्भर, मध्यनेपाललाई ब्रोन्ज

एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गर्दै आएको एक्सेस कार्यक्रम साकोसको संस्थागत गुणस्तर, वित्तीय अवस्था, सुशासन, सदस्य सेवा, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ र वृद्धिको मूल्याङ्कन गर्ने गुणस्तर सुनिश्चितता कार्यक्रम हो ।

यस वर्षको मूल्याङ्कनमा जनउत्थान साकोसले सिल्भर र मध्यनेपाल साकोसले ब्रोन्ज स्तर हासिल गरेका हुन् । एक्सेस कार्यक्रममा वित्तीय दृष्टिकोण, सदस्य दृष्टिकोण, आन्तरिक व्यावसायिक प्रक्रिया तथा सिकाइ एवं वृद्धिका गरी ८६ वटा सूचकका आधारमा संस्थाको मूल्याङ्कन गरिन्छ ।

जनउत्थान साकोसको कुल सम्पत्ति करिब ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । संस्थामा ४४ हजार माथि र ९९ कर्मचारी छन् । यसको शुद्ध संस्थागत पुँजी ८.७४ प्रतिशत रहेको छ भने कुल बचतमा नियमित बचतको हिस्सा ४३.६७ प्रतिशत छ । ११ हजार ४९६ सदस्य अर्थात् कुल सदस्यको २५.८८ प्रतिशतले ऋण सेवा उपयोग गरिरहेका छन् ।

त्यस्तै, मध्यनेपाल साकोसको कुल सम्पत्ति १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी छ । संस्थामा ३३ हजार बढी सदस्य र ४७ कर्मचारी छन् । शुद्ध संस्थागत पुँजी ७.५३ प्रतिशत रहेको संस्थामा ३ हजार ४१६ सदस्यले ऋण सेवा लिइरहेका छन् । यो कुल सदस्यको १०.१३ प्रतिशत हो ।

नेफ्स्कूनका अनुसार एक्सेस कार्यक्रम नेपालमा सन् २००६ देखि अभ्यासमा ल्याइएको हो । हाल करिब ७५ वटा बचत तथा ऋण सहकारी संस्थाले यो कार्यक्रम अभ्यास गरिरहेका छन् । कार्यक्रमले वित्तीय अनुशासनसँगै व्यवस्थापकीय कार्यकुशलता, सुशासन, प्रविधि, सुरक्षा र नियामकीय व्यवस्थाको कार्यान्वयनलगायत पक्षको प्राविधिक मूल्याङ्कन गर्ने भएकाले साकोसको संस्थागत क्षमता र गुणस्तर सुधारमा सहयोग पुग्ने नेफ्स्कूनको भनाइ छ ।