काठमाडाैं । लामो प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले असोज ७ गतेदेखि पोखरा–दुबई दैनिक सिधा उडान गर्ने भएको हो ।
फ्लाई दुबईले गत जुनमै २३ सेप्टेम्बरदेखि दुबईको टर्मिनल–३ बाट पोखराका लागि दैनिक उडान गर्ने घोषणा गरेको थियो । कम्पनीका अनुसार पोखरा नेपालमा उसको दोस्रो गन्तव्य हुनेछ । यसअघि सन् २००९ देखि काठमाडौंमा सेवा दिँदै आएको छ ।
पोखरा विमानस्थलका अनुसार पहिलो उडान असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ । उडान दैनिक हुनेछ ।
फ्लाई दुबईका अनुसार पोखरा–दुबई सेवा इमिरेट्ससँगको कोडसेयर साझेदारीमा सञ्चालन हुनेछ । यसबाट दुबई हुँदै मध्यपूर्व, युरोप, अमेरिका, अस्ट्रेलियालगायत गन्तव्यमा पोखराको हवाई पहुँच विस्तार हुने अपेक्षा गरिएको छ ।
सन् २०२३ जनवरी १ देखि सञ्चालनमा आएको पोखरा विमानस्थलबाट यसअघि भएका अन्तर्राष्ट्रिय उडान भने नियमित हुन सकेका छैनन् । हिमालय एयरलाइन्सले सन् २०२५ मार्चमा सुरु गरेको पोखरा–ल्हासा उडान पनि यात्रु अभावका कारण बन्द भएको थियो ।
फ्लाई दुबईको दैनिक उडानले पोखराको पर्यटन, होटल तथा ट्राभल–ट्रेकिङ व्यवसायमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । तर उडानलाई दीर्घकालीन बनाउन प्रतिस्पर्धी भाडादर, प्रभावकारी बजार प्रवद्र्धन, विमानस्थलका सेवा सुविधा र पर्यटन पूर्वाधारमा सुधार आवश्यक देखिन्छ ।
नेपालपत्र संवाददाता