काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ।
राष्ट्र बैंकले ३० दिन अवधिको ‘एक महिने निक्षेप संकलन’ उपकरणका लागि भदौ ३१ गते दिउँसो ३ बजेसम्म बोलकबोल आह्वान गरेको हो। बोलकबोलमार्फत निक्षेप संकलनको ब्याजदर निर्धारण हुनेछ।
राष्ट्र बैंकका अनुसार यस उपकरणमा न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सकिनेछ। बोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ। एउटै संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलकबोलसमेत गर्न सक्नेछ।
निक्षेप संकलनको साँवा तथा ब्याज २०८३ असोज ३० गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएकाे छ। राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो उपकरण धितोका रूपमा समेत प्रयोग गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
बोलकबोल ‘नेपाल राष्ट्र बैंक बोलकबोल प्रणाली’ (एनआरबीएस) मार्फत मात्र हुने राष्ट्र बैंकले जनाएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा केन्द्रीय बैंकले निक्षेप संकलनलगायत मौद्रिक उपकरणमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।
नेपालपत्र संवाददाता