काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ। राष्ट्र बैंकले ५६ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो। राष्ट्र बैंकले भदौ २६ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयरमार्फत ७० अर्ब रुपैयाँको निक्षेप संकलनका लागि बोलकबोल आव्हान गरेको छ।
केन्द्रीय बैंकका अनुसार निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। यस उपकरणमा बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि बोल गर्न सक्नेछन्। बोल गर्न सकिने रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्नेछ र कुल बोल रकम ७० अर्ब रुपैयाँभन्दा बढी हुन पाउने छैन।
राष्ट्र बैंकले संकलन गर्ने निक्षेपको साँवा तथा ब्याज २०८३ कात्तिक २० गते भुक्तानी गर्ने जनाएको छ। निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। यसअघि पनि राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न विभिन्न अवधिका निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ।
नेपालपत्र संवाददाता