काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुन:स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ ।
इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ । बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पुर्याएको छ । यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ ।
प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो । विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पुर्याउनु यस पहलको मुख्य उद्देश्य रहेको थियो ।
नेपालपत्र संवाददाता