शनिबार, आश्विन १७ गते २०८३

विकास बैंकहरूकाे खराब कर्जा बढ्यो, औसत ५.३७ प्रतिशत


भाद्र २५, २०८३ बिहीबार
विकास बैंकहरूकाे खराब कर्जा बढ्यो, औसत ५.३७ प्रतिशत

 

काठमाडौं । विकास बैंकहरूको खराब कर्जामा वृद्धि भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म १६ विकास बैंकको औसत खराब कर्जा अनुपात ५ दशमलव ३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असारमा विकास बैंकहरूको औसत खराब कर्जा अनुपात ४ दशमलव ६३ प्रतिशत थियो। एक वर्षमै यस्तो कर्जा शुन्य दशमलव ७४ प्रतिशत विन्दुले बढेको हो।

नयाँ कर्जा प्रवाह सुस्त हुनु र यसअघि दिइएको कर्जा असुली कमजोर हुनुलाई खराब कर्जा बढ्नुको मुख्य कारण मानिएको छ। आर्थिक गतिविधिमा आएको सुस्तताका कारण ऋणीको कर्जा तिर्ने क्षमता प्रभावित हुँदा बैंकहरूको कर्जा जोखिम बढेको हो।

राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भई व्यवस्थापन नियन्त्रणमा रहेको कर्णाली डेभलपमेन्ट बैंकलाई बाहेक सञ्चालनमा रहेका विकास बैंकमध्ये आठ बैंकको खराब कर्जा अनुपात घटेको छ। तर, अन्य बैंकमा खराब कर्जा बढ्दा समग्र अनुपात उकालो लागेको हो।

असारसम्म नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात सबैभन्दा धेरै ४८ दशमलव ५१ प्रतिशत पुगेको छ। मितेरी डेभलपमेन्ट बैंकको भने सबैभन्दा कम ० दशमलव २६ प्रतिशत रहेको छ।

विगत दुई वर्षदेखि जारी आर्थिक शिथिलताले बैंकहरूको कर्जा विस्तार र असुली दुवै प्रभावित भएको छ। पछिल्लो समय भदौ २३–२४ को जेनजी आन्दोलनपछि कतिपय व्यवसायमा थप असर पर्दा कर्जा असुलीमा समेत दबाब बढेको बैंकरहरूले बताएका छन्।

राष्ट्र बैंकको व्यवस्थाअनुसार निश्चित अवधिसम्म कर्जा नतिरेमा त्यसलाई क्रमशः कमसल, शंकास्पद र खराब कर्जाका रूपमा वर्गीकरण गरिन्छ। एक वर्षभन्दा बढी समय भाखा नाघेको कर्जा खराब कर्जामा पर्छ। यस्ता निष्क्रिय कर्जा बढ्नु बैंकको आम्दानी र वित्तीय स्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।