शनिबार, आश्विन १७ गते २०८३

बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसनको राहत


भाद्र २५, २०८३ बिहीबार
बाढीपीडितलाई एएचजेड एसोसिएट्स नेपाल र डीएमएच फाउन्डेसनको राहत

 

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई एएचजेड एसोसिएट्स नेपाल र डा. मुस्तफा हाजेरा फाउन्डेसन (डीएमएच फाउन्डेसन), बंगलादेशले राहत सामग्री वितरण गरेका छन्। बाढीबाट प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले नुवाकोटको विदुर क्षेत्रमा खाद्यान्न तथा दैनिक आवश्यकताका सामग्री वितरण गरिएको हो।

राहत अभियानका लागि आवश्यक आर्थिक सहयोग डीएमएच फाउन्डेसन, बंगलादेशले उपलब्ध गराएको थियो भने सामग्री व्यवस्थापन, वितरण र स्थानीय समन्वय एएचजेड एसोसिएट्स नेपालले गरेको जनाएको छ। राहत वितरणका क्रममा एएचजेड एसोसिएट्स नेपालको टोलीले प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था र आवश्यकताबारे जानकारीसमेत लिएको थियो।

डीएमएच फाउन्डेसनका अध्यक्ष क्याप्टेन एकेएम गोलाम कबिरियाले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताए। उनले मानवीय सहयोगको कुनै सीमा नहुने उल्लेख गर्दै नेपालका बाढीपीडितलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । 

अभियानको नेतृत्व एएचजेड एसोसिएट्स नेपालका कन्ट्री म्यानेजर शोबिन थापाले गरेका थिए। राहत टोलीले प्रभावित परिवारको पहिचान, सामग्री वितरण तथा स्थानीयस्तरमा समन्वय गरेको संस्थाले जनाएको छ।