शुक्रबार, कार्तिक ७ गते २०८३

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न अर्थ समितिले बनायो उपसमिति


भाद्र २४, २०८३ बुधबार
रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न अर्थ समितिले बनायो उपसमिति

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले रसुवामा आएको बाढीले नेपालको अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन गरेको छ । बाढीबाट पूर्वाधार, जलविद्युत्, व्यापार, पर्यटनलगायत आर्थिक क्षेत्रमा परेको क्षतिको अवस्था, त्यसको समग्र आर्थिक प्रभाव तथा पुनर्निर्माणका लागि आवश्यक स्रोतबारे अध्ययन गर्न उपसमिति गठन गरिएको हो। साथै, बाढीजन्य विपद्बाट भएको क्षतिका सन्दर्भमा जलवायु वित्त परिचालन गर्न सकिने सम्भावना र नेपालले लिनुपर्ने नीतिगत पहलबारे समेत उपसमितिले सुझाव दिनेछ।

बुधबार बसेको अर्थ समितिको बैठकले सम्बन्धित मन्त्रालय, सरकारी निकाय तथा अन्य सरोकारवाला पक्षसँग समन्वय गरी अध्ययन तथा अनुसन्धान गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो। उपसमितिको संयोजकमा सुशील खड्का तोकिएका छन्। सदस्यमा नरेन्द्रकुमार केरुङ, परशुराम तामाङ, पुष्प चौधरी, प्राडा पुष्पराज कँडेल, लिमा अधिकारी र सुशान्त वैद्य छन्।

उपसमितिले रसुवा बाढीको प्रत्यक्ष आर्थिक क्षतिसँगै त्यसले समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभाव, पुनःस्थापना तथा पुनर्निर्माणका लागि आवश्यक वित्तीय स्रोत र जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्बाट नेपालले प्राप्त गर्न सक्ने जलवायु वित्तका विषयमा अध्ययन गर्नेछ। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार उपसमितिलाई असोज २ गतेभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। प्रतिवेदनका आधारमा सरकारलाई आवश्यक नीतिगत तथा वित्तीय सुझाव दिइनेछ।