काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता व्यवस्थापनका लागि रु. ५५ अर्बको दुई महिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले ५६ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो। यसका लागि आज भदौ २४ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत बोलकबोल गरिने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाले न्यूनतम रु. १० करोडदेखि बोल गर्न सक्नेछन्। बोल गर्न सकिने रकम रु. १० करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकम रु. ५५ अर्बसम्म हुनुपर्नेछ।
यस उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी कात्तिक १८ गते हुनेछ। निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
बोलकबोलमा एउटै बैंक तथा वित्तीय संस्थाले फरक–फरक ब्याजदरमा एकभन्दा बढी बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। राष्ट्र बैंकले मौद्रिक बजारमा अधिक तरलता हुँदा निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम तान्ने गर्दछ।
नेपालपत्र संवाददाता