राष्ट्रिय सहकारी बैंकसँग पर्याप्त तरलता कायम रहेको बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जनाएका छन् ।
सिइओ गुरागाईले बैंक तथा वित्तीय क्षेत्रमा तरलता अभावको अवस्था रहेको भएपनि सहकारी बैंकमा कुनै प्रकारकाे तरलता अभाव नभएको चितवनमा एक पत्रकार भेटघाट कार्यक्रमका बीच बताएका हुन् ।
बैंक तथा वित्तीयमा जस्तो तरलता अभावको समस्या रहेपनि सहकारी क्षेत्रमा त्यस्तो कुनै संकट नदेखिएको उनले जनाए । अरु केही समय तरलता संकट भएपनि सहकारीमा त्यस्तो समस्या नआउने गुरागाईंको दावी थियो ।
गत असार मसान्तदेखि अहिलेसम्म कुल कर्जामा ५० प्रतिशतले बृद्धि भएको सीइओ गुरागाईंले जनाए । गत शुक्रबारसम्मको वित्तीय विवरण अनुसार बैंकमा तरलता १७.७३ र कर्जा निक्षेप अनुपात ७९.१६ प्रतिशत रहेको छ ।
राष्ट बैंकले तोकेको सिडी रेसियो भन्दा बैंकको सूचांक ११ प्रतिशत भन्दा बढी हो । त्यस्तै बैंकको न्यूनतम पुँजी कोष अनुपात ८ प्रतिशत हुनुपर्नेमा ९.५१ प्रतिशत रहेको बैंकले जनाएको छ । त्यस अवधिमा बैंकले ५० अर्ब निक्षेप संकलन गरी ३९ अर्ब कर्जा प्रवाह गरेको छ ।
बैंकका सिइओ गुरागाईले बैंकको वित्तीय अवस्था मजबुत भएको दावी गर्दै निक्षेप फिर्ता गर्न र कर्जा प्रवाह गर्न समस्या नभएको उल्लेख गरेका हुन् ।
शुक्रबार मात्र बैंकमा १८ करोड ४० लाख निक्षेप संकलन भएको बैंकले जनाएको छ । बिहीबार ३ करोड निक्षेप संकलन भएको थियो ।