काभ्रेपलाञ्चोक। रसुवा जिल्लास्थित भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा जिल्ला सहकारी संघ लि., काभ्रेको परिसरमा सोमबार दीप प्रज्ज्वलन गरिएको छ ।
बाढीमा परी ज्यान गुमाएका व्यक्तिको सम्झना तथा सम्मानमा आयोजित कार्यक्रममा दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको थियो । कार्यक्रममा बाढीका कारण घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै बेपत्ता व्यक्तिको खोजी तथा सुरक्षित उद्धारका लागि कामना गरिएको थियो ।
विपद्का कारण उत्पन्न दुःखद् परिस्थितिमा सहकारी अभियानको ऐक्यबद्धता, मानवीय संवेदना र सद्भाव प्रकट गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको जिल्ला सहकारी संघले जनाएको छ । कार्यक्रममा सहभागीले विपदमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति व्यक्त गरेका थिए ।

नेपालपत्र संवाददाता