शुक्रबार, कार्तिक ७ गते २०८३

भोटेकोशी बाढीबाट प्रभावित सहकारीको पुनःस्थापनामा बचत संघहरूको पहल


भाद्र २३, २०८३ मंगलबार
भोटेकोशी बाढीबाट प्रभावित सहकारीको पुनःस्थापनामा बचत संघहरूको पहल

 

भक्तपुर । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त सहकारी संस्थाहरूको पुनःस्थापना तथा राहत व्यवस्थापनका लागि विभिन्न जिल्लाका बचत तथा ऋण सहकारी संघहरूले पहल थालेका छन् ।

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको मुख्य कार्यालय सूर्यविनायकमा सोमबार नुवाकोट, काठमाडौं, काभ्रे, मकवानपुर र भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तथा व्यवस्थापकहरूको संयुक्त भेला बसेर बाढी प्रभावित सहकारीलाई पुनः सञ्चालनमा ल्याउने योजना अघि बढाउने निर्णय गरेको हो ।

भेलाले बाढीबाट प्रभावित सहकारी संस्था, सञ्चालक, कर्मचारी तथा सदस्यहरूलाई सामान्य अवस्थामा फर्काउन अल्पकालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको योजना अघि बढाउने निर्णय गरेको छ ।

भेलामा नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष नारायण श्रेष्ठले भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षति र उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराउँदै नुवाकोटका १५ सहकारी संस्था गम्भीर रूपमा प्रभावित भएको बताए । बाढीले कार्यालय, कागजात, श्रेस्ता तथा अन्य सामग्रीमा क्षति पुर्‍याएकाले ती संस्थाको सेवा तत्काल पुनःसञ्चालन गर्न सहयोग आवश्यक रहेको उनले बताए ।

पुनःस्थापनाका लागि पहिलो चरणमा बाढीबाट प्रभावित सहकारीकर्मी, कर्मचारी र सदस्यको वास्तविक क्षतिको विवरण संकलन गरिने भएको छ । त्यसपछि तत्काल कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री तथा सहयोगको पहिचान गरी अल्पकालीन योजना बनाइने र संस्थालाई दीगो रूपमा सञ्चालनमा ल्याउन दीर्घकालीन पुनःस्थापनाको खाका तयार गरिनेछ ।

त्यसैगरी आवश्यक राहत तथा भौतिक उपकरणको यकिन विवरण संकलन गरी प्राप्त सहयोगलाई कानुनसम्मत, पारदर्शी र व्यवस्थित रूपमा वितरण गर्न छुट्टै आन्तरिक कार्यविधि निर्माण गर्ने निर्णय भएको छ ।

पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कून, प्रदेश संघ, जिल्ला संघ तथा प्रारम्भिक सहकारी संस्थाबीच समन्वय र सहकार्य गर्ने सहमति भएको छ ।

सहकारीको सातौँ सिद्धान्त ‘समुदायप्रति चासो’ तथा अन्तर–सहकारी सहकार्यको मर्मअनुसार विपद्बाट प्रभावित सहकारी संस्थाहरूलाई पुनःस्थापित गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउन भेलाले समग्र सहकारी अभियानसँग आग्रह गरेको छ ।