नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक व्यवस्था गरेको छ ।
पृथ्वीराजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण सडक मार्ग अवरुद्ध भएपछि निगमले जारी गरेको सूचना अनुसार काठमाडौं, धादिङ तथा काभ्रेपलाञ्चोकमा रहेका ग्यास उद्योगहरूका ग्यास सिलिण्डरहरूलाई तराईका विभिन्न जिल्लाका उद्योगहरूमा रिफिल गरी काठमाडौं ल्याउने व्यवस्था मिलाइएको छ ।
हाललाई बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरी जिल्लामा अवस्थित उद्योगहरूबाट ग्यास रिफिल गरी वैकल्पिक मार्गबाट काठमाडौं ल्याई बिक्री वितरण भइरहेको निगमले जनाएको छ । निगमका अनुसार १८ गतेदेखि २० गतेसम्म विभिन्न १६ वटा ग्यास ब्राण्डका कुल ८७,८७७ सिलिण्डरहरू रिफिल गरी काठमाडौं ल्याइएको निगमले जनाएको छ ।
नेपालपत्र संवाददाता