शुक्रबार, कार्तिक ७ गते २०८३

हाम्रो सुपर साकोसद्वारा बाढीपीडितका लागि एक लाख एक हजार सहयोग


भाद्र २१, २०८३ आइतबार
हाम्रो सुपर साकोसद्वारा बाढीपीडितका लागि एक लाख एक हजार सहयोग

 

नवलपरासी। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार ९९९ रुपैयाँ सहयोग गर्ने भएको छ।

संस्थाले भदौ १० गते आएको भोटेकोशी बाढी तथा त्यसबाट रसुवालगायत विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनाका लागि उक्त सहयोग घोषणा गरेको हो।

संस्थाका अनुसार सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र कर्मचारीको समेत योगदानसहित संकलित रकममध्ये ५१ हजार ९९९ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। बाँकी ५० हजार रुपैयाँ सरावल गाउँपालिका–१ का बासिन्दा माधव चौधरीको घर निर्माणका लागि सरावल गाउँपालिकासँगको सहकार्यमा खर्च गरिने संस्थाले जनाएको छ।

संस्थाले विपद्को कठिन घडीमा प्रभावित परिवारलाई साथ दिनु आफ्नो मानवीय तथा सामाजिक दायित्व भएको जनाएको छ। बाढीबाट प्रभावित नागरिकको शीघ्र उद्धार, घाइतेको स्वास्थ्यलाभ तथा प्रभावित परिवारलाई राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायबाट प्रभावकारी पहल हुने अपेक्षा पनि संस्थाले गरेको छ।

सहकारीले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित परिवारको सुरक्षित र सहज जीवनयापनको कामना गरेको छ।