शुक्रबार, कार्तिक ७ गते २०८३

पिपलबोट बहुउद्देश्यीयले संस्था एकिकरणलाई जोड दिने

मंसिर २६, २०७८ आइतबार
पिपलबोट बहुउद्देश्यीयले संस्था एकिकरणलाई जोड दिने


पिपलबोट बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो १४औं साधारणसभा आज सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष दिनेश थापाको सभापतित्व एवं बहुउद्देश्यीय सहकारी संघ ललितपुरका उपाध्यक्ष किशोर महर्जनको प्रमुख आतिथ्यतामा संस्थाले सभा सम्पन्न गरेको हो । 


अध्यक्ष थापाले संस्था स्थापनाको उद्देश्य, समग्र वित्तीय अवस्था र भावी कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । सभामा बोल्दै उनले एकै प्रकृतिका र उद्देश्य मिल्ने सहकारी संस्थाहरुबीच एकिकरणमा जाने बताए । त्यसका लागि विभिन्न चरणमा सञ्चालकसमितिको बीचमा छलफल समेत भएको उनले जानकारी गराए । 


त्यसैगरी चालु आर्थिक वर्षमा लगानीलाई वर्गीकरण गरी विभिन्न क्षेत्रमा सुरक्षित लगानी गर्ने र तालिका बनाई असुलीलाई कडाई गरिने, दैनिक तथा मासिक किस्ता तिर्न सक्ने आम्दनी भएका सदस्यहरुलाई ऋण लगानी गर्ने, पञ्चवर्षीय रणनीतिक व्यवसायिक योजना तर्जुमा गरी कार्यान्वयन गर्ने, अध्ययन अवलोकन भ्रमणको आयोजना गर्ने र उत्पादन र रोजगारी प्रदान गर्ने क्षेत्रमा लगानी बढाउने जस्ता योजना रहेको उनले सभालाई जानकारी दिए । 


त्यसैगरी ऋणी सदस्यहरुको दुर्घटना तथा जीवनबीमालाई प्रभावकारी बनाउने समेत उनले बताए । संस्थाले सदस्यहरुको उपचारमा रोगको प्रकृति हेरी आर्थिक सहयोग गर्ने र सदस्यको मृत्य हुँदा दिइने आर्थिक राहतलाई निरन्तरता दिने समेत उनले जनाए । 


सदस्यका हरेक दैनिकीमा सहकारी जोडिएको र संस्थाले पनि सहकारी ऐन नियमको अधिनमा रही सदस्यहरुलाई समयसापेक्ष सेवा प्रदान गर्दै जाने उनले जनाए । सदस्यहरुको आर्थिक तथा सामाजिक आवश्यकतालाई परिपूर्ति गरी जीवनस्तर उकास्नका लागि संस्था लागिपरेको सो अवसरमा उनले बताए । सदस्यकेन्द्रित रही संस्था सञ्चालन हुँदै आएको र सदस्यहरुको हरेक आवश्यकता परिपूर्ति गर्न क्रियाशील रहेको उनले उल्लेख गरे ।  


२०६५ सालमा २५ जना शेयरसदस्य र १२ हजार ५ सय शेयरपुँजीबाट सहकारीमार्फत समाजका विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थान गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको थियो ।


संस्थाका सचिव सुदर्शन थापाले आ.व. २०७७।७८को वार्षिक प्रतिवेदन तथा लेखा समिति संयोजक पुनम खड्गीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाले गत आ.व.को मसान्तसम्म ५ करोड ४५ लाख ७१ हजार ऋण लगानी गरेको छ । संस्थाले शिक्षा तथा तालिम सहभागिता, लघु कर्जा कार्यक्रम, अन्तरसहकारी सम्बन्ध र विभिन्न सामाजिक गतिविधिमा सहभागिता जनाउँदै आएको छ । 

pipalbot 2.jpg