शुक्रबार, कार्तिक ७ गते २०८३

तामागढी साकोसद्वारा बाढी प्रभावितका लागि २ लाख ५१ हजार सहयोग


भाद्र २१, २०८३ आइतबार
तामागढी साकोसद्वारा बाढी प्रभावितका लागि २ लाख ५१ हजार सहयोग

 

बारा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ लाख ५१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ। कोल्हवी–१, बारास्थित संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

संस्थाले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लामा भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायलाई सहयोग गर्ने उद्देश्यले रकम जुटाएको जनाएको छ ।

संस्थाका अनुसार मानवीय सहायता तथा राहतस्वरूप १ लाख ८५ हजार रुपैयाँ उपलब्ध गराइएको छ । त्यस्तै, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, ऋण परिचालन उपसमिति तथा सेवाकेन्द्र सञ्चालन उपसमितिको एक बैठकबापतको भत्ता र कर्मचारीहरूको एक दिन बराबरको तलब गरी ६६ हजार ५ सय रुपैयाँ संकलन गरिएको हो । यसरी जम्मा भएको २ लाख ५१ हजार ५ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको संस्थाका सचिव रामकाजी खड्काद्वारा जारी अपिलमा उल्लेख छ ।

भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, बाढीमा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारलाई यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ ।

संस्थाले विपद्को समयमा सामूहिक ऐक्यबद्धता आवश्यक रहेको भन्दै अन्य नागरिक तथा संघसंस्थालाई पनि ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको मूल भावनाअनुसार सहयोगमा जुट्न अपिल गरेको छ ।