शनिबार, आश्विन १७ गते २०८३

हिमनदी खसेर बाढी शुरू भएको क्षेत्र नेपालको भूभाग रहेको -दीक्षित

भाद्र २०, २०८३ शनिबार
हिमनदी खसेर बाढी शुरू भएको क्षेत्र नेपालको भूभाग रहेको   -दीक्षित

डा. आमोदमणि दीक्षित

सन् २०२६ अगष्ट २६ तारिख बिहान नेपालको लामटाङ क्षेत्रमा हिमनदी खस्ता विनासकारी बाढी उत्पन्न भई भयावह बाढी गएको नेपाली वरिष्ठ वैज्ञानिक डा आमोदमणि दीक्षितले बताउनु भएको छ। उक्त पहिरोको उत्पत्तिस्थल नेपालको लामटाङ हिमालको उत्तरी क्षेत्र नेपालको सीमा भित्र रहेको स्पष्ट देखिएको पनि उहाँले बताउनुभयो।

डा आमोदमणि दीक्षित हाल चिनियाँ विज्ञान प्रतिष्ठानमा आमन्त्रित वैज्ञानिकका रूपमा बेइजिङमा कार्यरत हुनुहुन्छ। नेपालका वरिष्ठ वैज्ञानिक दीक्षित भूगर्भविद तथा भूकम्पविद पनि हुनुहुन्छ। उहाँले प्राकृतिक प्रकोपका विषयमा विश्वका एक दर्जनभन्दा बढी देशहरूमा तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने काम गर्दै आउनु भएको छ। चिनियाँ विज्ञान प्रतिष्ठानको एरोस्पेस सूचना अनुसन्धान इन्स्टिच्युटमा आमन्त्रित वैज्ञानिकका रूपमा काम गरिरहनु भएका दीक्षितले चाइना मिडिया ग्रुपको नेपाली सेवालाई विशेष अन्तर्वार्ता दिने क्रममा उक्त भनाइ राख्नु भएको हो।

सन् २०२६ अगष्ट २६ तारिख नेपाल र चीनबीचको सीमा क्षेत्र केरूङ गएको पहिरो र त्यसपछि उत्पन्न बाढीका बारेमा उहाँले गहन अध्ययन गर्नु भएको छ। पहिरोको उत्पत्तिस्थल नेपालको लामटाङ हिमालको उत्तरी क्षेत्र नेपालको सीमा भित्र रहेको स्पष्ट देखिएको उहाँले अन्तर्वार्ताका क्रममा बताउनुभयो।

हिमनदी खसेर ठूलो बाढी आएको वैज्ञानिक तथ्यबाट पुष्टि भएको भन्दै उहाँले जलवायु परिवर्तनको असरका रूपमा यस्तो प्राकृतिक प्रकोप देखिएको  र धेरै उचाइबाट कम उचाइमा हिमनदीमा जमेको व्यापक हिउँ खस्ता भूकम्पजस्तो कम्पन भएको जानकारी दिनुभयो। प्रकोपपछिको उद्दार कार्यमा विभिन्न कठिनाइ देखिएको भन्दै उद्दार कार्यमा चीनसँग सहयोग मागेर द्रुत बनाउनु पर्ने डा दीक्षितले बताउनुभयो।

हिमालहरू नेपाल र चीनका साझा सम्पदा रहेको बताउँदै हिमालको संरक्षण तथा यससँग सम्बन्धित क्षेत्रमा व्यापक वैज्ञानिक खोज अनुसन्धान गर्नका लागि नेपालले चाँडै चीनसँग सहकार्य गर्नु पर्ने कुरामा उहाँले जोड दिनुभयो। प्राकृतिक प्रकोपको रोकथाम, सूचना सम्प्रेषण र प्रकोपपछिको उद्दारमा चीनसँग ठूलो अनुभव, धेरै जनशक्ति र विशाल पूँजी रहेकाले नेपालले चीनबाट धेरै कुरामा सहकार्य गर्नुपर्छ भन्दै नेपालको हितका लागि यस प्रकारका क्षेत्रमा सहकार्य तथा आदानप्रदान बढाउनका लागि नेपालले तुरून्तै पहल गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो।