शुक्रबार, कार्तिक ७ गते २०८३

भोटेकोशी विपद् बारे संसदमा प्रधानमन्त्रीको जवाफ : के भयो, सरकारले के गर्‍यो ?


भाद्र १७, २०८३ बुधबार
भोटेकोशी विपद् बारे संसदमा प्रधानमन्त्रीको जवाफ : के भयो, सरकारले के गर्‍यो ?

बाढीपछि ११ हजार ९ सय ९३ जनाको उद्धार, ३ हजार ९ सय १६ अझै सम्पर्कविहीन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीपछि सरकारले तीव्र रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गरेको बताएका छन्। संसदमा विशेष सम्बोधन गर्दै उनले हालसम्म ११ हजार ९ सय ९३ जनाको उद्धार गरिएको र ३ हजार ९ सय १६ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए।

प्रधानमन्त्रीका अनुसार बाढी आएको दिन बिहान ८ः४५ बजेदेखि नै सरकारले उद्धारका लागि संयन्त्र परिचालन थालेको थियो। ९ बजे प्रभावित तटीय बस्तीका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको, ९ः१५ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बसेको र ९ः३५ बजे प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कताको सूचना पठाइएको उनले बताए। त्यसको १० मिनेटपछि नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उडेको थियो।

उनका अनुसार त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई खोज, उद्धार, उपचार तथा राहतमा परिचालन गरिएको थियो। बाढी आएको भोलिपल्ट राति ८ बजेसम्म १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन भइसकेका थिए भने ६९ उडानबाट ३५१ जनाको उद्धार गरिएको थियो। उद्धारमा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताए।

उद्धार गरिएका घाइतेमध्ये २९२ जना अस्पताल भर्ना भएकोमा १८२ जना डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा विशेषज्ञसहितको स्वास्थ्य टोली खटाइएको र मनोपरामर्श तथा रोग नियन्त्रणका कार्यक्रमसमेत सञ्चालन भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।

राहत कोषमा ७ अर्बभन्दा बढी, १५ पालिकामा रकम निकासा

सरकारले राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत स्रोत परिचालन गरिरहेको जनाएको छ। प्रधानमन्त्रीका अनुसार राहत कोषमा ७ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ जम्मा भएको थियो। त्यसमध्ये राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ निकासा गरिएको र १५ पालिकामा ६ करोड ७५ लाख रुपैयाँ वितरण भइसकेको छ। कोषमा अझै ६ अर्ब ८८ लाख ५७ हजार २१७ रुपैयाँ मौज्दात रहेको तथा थप ६१ लाख ४१ हजार ७०२ अमेरिकी डलर जम्मा भएको उनले बताए।

नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा मात्रै २ हजार ६५३ प्रभावितले आश्रय तथा राहत पाइरहेको प्रधानमन्त्रीले जानकारी दिए। घरबारविहीन भएकाहरूका लागि तत्कालीन अस्थायी व्यवस्थासँगै दीर्घकालीन पुनःस्थापनामा समेत सरकार लाग्ने उनको भनाइ छ।

सञ्चार ९५ प्रतिशत पुनःस्थापित, ४३१ मेगावाट विद्युत् अवरुद्ध

बाढीबाट भोटेकोशी–त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। प्रधानमन्त्रीका अनुसार सञ्चालनमा रहेका ८ आयोजना (२८१ मेगावाट) र निर्माणाधीन ४ आयोजना (३८८ मेगावाट) क्षतिग्रस्त भएका छन् भने बाढीका कारण ४३१.१ मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ।

प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा पनि दोस्रो दिनदेखि पुनःस्थापना गर्न थालिएको र हालसम्म ९५ प्रतिशत सेवा सञ्चालनमा आएको प्रधानमन्त्रीले बताए। सञ्चार पहुँचबाहिरका क्षेत्रमा ३० वटा स्याटेलाइट फोनमार्फत सेवा दिइरहेको उनले जानकारी दिए।

सडक तथा पुलमा समेत ठूलो क्षति पुगेको छ। गल्छी–बेत्रावती–रसुवागढी सडकमा ४० किलोमिटर सडक पूर्ण र १६ किलोमिटर आंशिक क्षतिग्रस्त भएको तथा ४८ वटा झोलुङ्गे पुल र ३१ वटा मोटरेबल पुलमा क्षति पुगेको प्रधानमन्त्रीले बताए। क्षतिग्रस्त क्षेत्रमा बेलिब्रिज निर्माण र सडक मर्मतको काम अघि बढाइएको छ।

बाढीबाट मृत्यु भएका १ हजार ११४ शव फेला परेकोमा ९५ शवको सनाखत भई परिवारलाई बुझाइएको प्रधानमन्त्रीले जानकारी दिए। पहिचान हुन नसकेका शवको डीएनए लगायतका आधार सुरक्षित राखेर कानुनी तथा वैज्ञानिक प्रक्रियाबाट व्यवस्थापन गरिएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले यो विपद् सामान्य पूर्वानुमानभन्दा बाहिरको घटना भएको उल्लेख गर्दै हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै विपद्को जोखिम बढिरहेको संकेतका रूपमा लिनुपर्ने बताए। सम्पर्कविहीनको खोजी, घाइतेको उपचार तथा विस्थापितको अस्थायी र दीर्घकालीन पुनःस्थापनालाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै उनले भने, “कोही कतै छुट्नुहुनेछैन।”