काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाममा नक्कली क्यूआर कोड तथा बैंक खाता विवरण प्रयोग गरी अनधिकृत रूपमा रकम संकलन र ठगी हुन थालेपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सचेत गराएको छ।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विपद्को समयमा कोषमा सहयोग रकम जम्मा गर्दा आधिकारिक विवरण यकिन गरेर मात्रै रकम पठाउन आग्रह गरेको हो।
राष्ट्र बैंकका अनुसार मोबाइल बैंकिङ, वालेट, कनेक्ट आईपीएसलगायत कुनै पनि माध्यमबाट रकम पठाउँदा खाताको नाम ‘प्राइममिनिस्टर डिजास्टर रिलिफ फण्ड’ रहेको अनिवार्य रूपमा यकिन गर्नुपर्नेछ। रकम प्रविष्ट गरेपछि पनि पठाउनुअघि पुनः रकम यकिन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
कोषमा रकम जम्मा गर्न राष्ट्र बैंक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अर्थ मन्त्रालयको वेबसाइटमा उल्लेख भएका आधिकारिक बैंक खाता विवरण मात्रै प्रयोग गर्न राष्ट्र बैंकले भनेको छ।
त्यस्तै, सामाजिक सञ्जाल, इमेल तथा मेसेजिङ एपमा फैलिएका अनधिकृत क्यूआर कोड स्क्यान नगर्न पनि आग्रह गरिएको छ। सहयोग रकम पठाउन सहजीकरण गर्ने बहानामा कसैले मागे पनि ओटीपी, पिन, पासवर्डलगायत संवेदनशील व्यक्तिगत विवरण उपलब्ध नगराउन राष्ट्र बैंकले सचेत गराएको छ। राष्ट्र बैंकले कोषमा रकम पठाउँदा आधिकारिक एप्लिकेसनको प्रयोग गर्न समेत आग्रह गरेको छ।
आफू ठगीमा परेको आशंका भए तत्काल सम्बन्धित बैंक तथा वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकलाई जानकारी गराउनुपर्ने राष्ट्र बैंकले जनाएको छ। साथै, नेपाल प्रहरीको साइबर ब्युरो वा राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईमा समेत जानकारी गराउन आग्रह गरिएको छ।
नेपालपत्र संवाददाता