शुक्रबार, कार्तिक ७ गते २०८३

बाढीपछि काठमाडौं–हेटौंडा आवागमनका लागि यी वैकल्पिक रूट निर्धारण


भाद्र १६, २०८३ मंगलबार
बाढीपछि काठमाडौं–हेटौंडा आवागमनका लागि यी वैकल्पिक रूट निर्धारण

 

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा अविरल वर्षाका कारण पृथ्वी राजमार्गसहितका सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकाबाट सवारीसाधन भित्रिने र बाहिरिने वैकल्पिक रूट निर्धारण गरिएको छ।

प्रहरी प्रधान कार्यालयले आजदेखि मकवानपुरको हेटौंडा–काठमाडौं आवागमनका लागि सवारीसाधनको प्रकृति र क्षमताअनुसार छुट्टाछुट्टै रूट व्यवस्थापन गरेको हो।

नयाँ व्यवस्थाअनुसार १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन हेटौंडाबाट काठमाडौं आउँदा त्रिभुवन राजपथ हुँदै सञ्चालन हुनेछन् भने काठमाडौं फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारीले भने अनिवार्य रूपमा साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।

१४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारीसाधनका लागि पनि छुट्टै रूट तोकिएको छ। काठमाडौं–हेटौंडा आउँदा फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी र हेटौंडाबाट काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै सञ्चालन गर्नुपर्नेछ।

त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीले बेलिब्रिज प्रयोग नगरी नजिकैको डाइभर्सनबाट आवागमन गर्नुपर्ने प्रहरीले जनाएको छ।

यसैबीच, भोटेकोशी बाढी र लगातारको वर्षाका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ–७, कृष्णभिरमा त्रिशूली नदीले सडक कटान गरी सडक भासिएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। गजुरी गाउँपालिका–२ को परेवाभिरमा पनि बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडक पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

विपद्को अवस्था रहेकाले प्रहरीले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, आफ्नो पालोमा अनुशासित रूपमा सवारी सञ्चालन गर्न, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।