काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २६ वटा समस्याग्रस्त सहकारी संस्थाका बचतकर्तालाई बचत रकम फिर्ताका लागि अन्तिम पटक अनलाइन मागदाबी गर्न आह्वान गरेको छ । समितिले यसअघि विभिन्न कारणले अनलाइन मागदाबी गर्न छुटेका सदस्य बचतकर्तालाई २०८३ भदौ १५ देखि मंसिर १४ गतेसम्म तीन महिनाको अन्तिम अवसर दिएको हो ।
समितिका अनुसार अनलाइन मागदाबी claim.coopmc.gov.np मार्फत गर्न सकिनेछ । मागदाबी गर्दा सम्बन्धित सहकारी र शाखा छनोट गरी व्यक्तिगत विवरण, बचतको विवरण, ब्याजदर तथा फिर्ता रकम प्राप्त गर्ने सहकारीबाहेकको बैंक खाताको विवरण अनिवार्य रूपमा भर्नुपर्नेछ ।
मागदाबीका लागि बचत रकम जम्मा गरेको प्रमाणका रूपमा पासबुकको बचतकर्ताको नाम–थर खुलेको पहिलो पृष्ठ र मौज्दात देखिएको पछिल्लो पृष्ठ स्क्यान गरी अपलोड गर्नुपर्नेछ । हस्ताक्षर वा औँठाछाप पनि सेतो सादा कागजमा गरी स्क्यान वा फोटोका रूपमा अपलोड गर्नुपर्ने समितिले जनाएको छ ।
एकभन्दा बढी कागजात भए सबैलाई एउटै पीडिएफ फाइल बनाएर अपलोड गर्नुपर्नेछ भने अपलोड गरिने फाइल १ एमबीभन्दा कम हुनुपर्नेछ । जेपीजी, जेइपीजी, पीएनजी वा पीडिएफ ढाँचाका कागजात स्वीकार गरिनेछन् ।
समितिले एउटै व्यक्तिले एउटै प्रकारको एकभन्दा बढी खाता भए ‘Add (+)’ विकल्पबाट थप्न सक्ने, तर एउटै व्यक्तिले दोहोरो मागदाबी गर्न नपाउने स्पष्ट पारेको छ । एक व्यक्तिले एउटै आवेदनमार्फत सम्बन्धित संस्थामा रहेका आफ्ना सबै बचतको विवरण समेट्नुपर्नेछ । परिवारका फरक सदस्यको मागदाबी भने छुट्टाछुट्टै गर्नुपर्नेछ ।
मोबाइल नम्बरका आधारमा आवेदनको अवस्था जाँच हुने भएकाले सम्बन्धित व्यक्तिकै मोबाइल नम्बर अनिवार्य राख्नुपर्ने र अरू व्यक्तिको मोबाइल नम्बर प्रयोग गरे मागदाबी रद्द हुन सक्ने समितिले जनाएको छ । नाबालक बचतकर्ताको हकमा भने बाबु वा आमाले संरक्षकका रूपमा मागदाबी गर्न सक्नेछन्, तर आवेदनमा प्रयोग गरिएको मोबाइल नम्बर अन्य मागदाबीमा प्रयोग गर्न नहुने उल्लेख छ ।
मृतक बचतकर्ताको हकमा हकवालाले आवश्यक प्रमाणसहित मागदाबी गर्न सक्नेछन् । संयुक्त नाममा रहेको खाताको हकमा खातामा उल्लेख भएअनुसार सबै नाम समावेश गर्नुपर्नेछ ।
अनलाइन मागदाबी खुला गरिएका २६ समस्याग्रस्त सहकारी
समितिले निम्न सहकारीका बचतकर्ताका लागि अन्तिम पटक अनलाइन मागदाबी खुला गरेको छः
१. कुमारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
२. कुबेर बचत तथा ऋण सहकारी संस्था लिमिटेड
३. कोहिनूर हिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
४. चार्टर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
५. स्टाण्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड
६. स्टाण्डर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
७. प्यासिफिक सेभिङ एण्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड
८. प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड
९. मेघास बचत तथा ऋण सहकारी संस्था लिमिटेड
१०. सोसाइटी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
११. लुनिमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१२. ओरिएण्टल को–अपरेटिभ लिमिटेड
१३. पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड
१४. तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड
१५. शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
१७. कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
१८. कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड
१९. श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२०. गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२१. गोर्खा सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड
२२. श्री आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२३. तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२४. हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२५. नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
२६. घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
अनलाइन मागदाबीबारे थप जानकारी
नेपालपत्र संवाददाता