काठमाडौं । प्राकृतिक विपद्का कारण क्षति पुगेका वा सञ्चालनमा कठिनाइ भएका बैंक तथा वित्तीय संस्थाका शाखा तथा कार्यालयलाई नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको अर्को शाखामा समायोजन गर्न सकिने भएको छ। एक एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले विपद् प्रभावित क्षेत्रमा बैंकिङ सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंकका अनुसार रसुवालगायत प्रभावित क्षेत्रमा शाखा वा कार्यालय सञ्चालन गर्न असहज भएमा सम्बन्धित इजाजतपत्रप्राप्त संस्थाले आफैं निर्णय गरी अर्को उपयुक्त स्थानमा शाखा सार्न वा नजिकैको अर्को शाखामा समायोजन गर्न सक्नेछन्।
तर यसरी शाखा स्थानान्तरण वा समायोजन गरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले सात दिनभित्र नेपाल राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। अर्थात् शाखा सार्नुअघि राष्ट्र बैंकको अनुमति लिनुपर्ने बाध्यता हटाइएको हो, तर गरिएको स्थानान्तरण वा समायोजनबारे राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था भने कायम राखिएको छ। राष्ट्र बैंकले यसअघि पनि प्रभावित क्षेत्रमा विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट बैंकिङ सेवा सञ्चालन गर्न सहजीकरण गर्ने जनाएको थियो।
नेपालपत्र संवाददाता