शनिबार, आश्विन १७ गते २०८३

आयात २० खर्ब हुँदा निर्यात ३ खर्बमा सीमित–निर्यातको आधार साँघुरो, आयातको दायरा फराकिलो


भाद्र १४, २०८३ आइतबार
आयात २० खर्ब हुँदा निर्यात ३ खर्बमा सीमित–निर्यातको आधार साँघुरो, आयातको दायरा फराकिलो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा निर्यातले दोहोरो अंकको वृद्धि कायम राखे पनि आयातको तुलनामा कमजोर विस्तार हुँदा व्यापार घाटा झन् फराकिलो भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा निर्यात १३.८ प्रतिशतले बढ्दा आयात १६.२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा नेपालबाट ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । निर्यात वृद्धिदर अघिल्लो वर्षको ८१.८ प्रतिशतको तुलनामा भने निकै सुस्त हो । अर्कोतर्फ आयात २० खर्ब ९६ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १३.३ प्रतिशतले बढेको आयात यस वर्ष थप तीव्र बनेको देखिन्छ ।

यसको प्रत्यक्ष प्रभाव व्यापार घाटामा परेको छ । समीक्षा वर्षमा नेपालको व्यापार घाटा १६.६ प्रतिशतले बढेर १७ खर्ब ८१ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष व्यापार घाटा ६ प्रतिशतले मात्रै बढेको थियो । निर्यात–आयात अनुपातसमेत १५.४ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झरेको छ, जसले आयातको तुलनामा निर्यात क्षमता अझै कमजोर रहेको देखाउँछ ।

भारत र चीनसँगको व्यापारमा फरक प्रवृत्ति

निर्याततर्फ भारत र अन्य मुलुकमा क्रमशः १५.१ र १०.१ प्रतिशतको वृद्धि भए पनि चीनतर्फको निर्यात २८ प्रतिशतले घटेको छ । यसले नेपालको निर्यात बजार अझै सीमित र केही निश्चित मुलुकमा केन्द्रित रहेको देखाउँछ ।

वस्तुगत रूपमा भटमासको तेल, पाम तेल, अलैंची, जुटका सामान र चाउचाउलगायतका वस्तुको निर्यात बढेको छ । तर जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा तथा हस्तकलाका सामानको निर्यात घटेको छ । यसले निर्यात वृद्धि उच्च मूल्य अभिवृद्धि भएका विविध नेपाली उत्पादनभन्दा केही सीमित वस्तुमा बढी निर्भर रहेको संकेत गर्छ ।

आयाततर्फ भने भारतबाट १३ प्रतिशत, चीनबाट २४.७ प्रतिशत र अन्य मुलुकबाट १७.५ प्रतिशतले वृद्धि भएको छ । पेट्रोलियम पदार्थ, चाँदी, यातायातका उपकरण, सवारीसाधन तथा स्पेयर पार्टस्, रासायनिक मल र मेसिनरी तथा पार्ट्सको आयात बढेको छ । अर्थात् आयात वृद्धिमा उपभोग्य वस्तुसँगै उत्पादन र पूर्वाधारसँग सम्बन्धित वस्तुको मागसमेत रहेको देखिन्छ ।

पुँजीगत वस्तुको हिस्सा बढे पनि संरचनात्मक कमजोरी कायमै

वैदेशिक व्यापारको संरचनाले नेपालको अर्थतन्त्रमा रहेको अर्को विरोधाभास देखाउँछ । कुल आयातमा मध्यवर्ती वस्तुको हिस्सा ५१.४ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा ९.६ प्रतिशत छ । अघिल्लो वर्ष पुँजीगत वस्तुको हिस्सा ९.२ प्रतिशत थियो । यसले उत्पादन क्षमता विस्तारका लागि केही लगानी भइरहेको संकेत गरे पनि आयातको ठूलो हिस्सा अझै उत्पादन प्रक्रियामा प्रयोग हुने मध्यवर्ती वस्तुमै निर्भर रहेको देखाउँछ ।

निर्यात भने उल्टै ६९ प्रतिशत अन्तिम उपभोग्य वस्तुमा केन्द्रित छ । मध्यवर्ती वस्तुको हिस्सा ३०.४ प्रतिशत र पुँजीगत वस्तुको हिस्सा केवल ०.६ प्रतिशत छ । यस्तो संरचनाले नेपालले निर्यातमा पर्याप्त औद्योगिक तथा पुँजीगत आधार निर्माण गर्न नसकेको प्रस्ट पार्छ ।

समग्रमा, चालु तथ्यांकले नेपालको वैदेशिक व्यापारमा निर्यात बढिरहेको भए पनि आयातको गति अझ तीव्र हुँदा बाह्य क्षेत्रको संरचनात्मक असन्तुलन कायमै रहेको देखाएको छ । निर्यात वृद्धि केही वस्तुमा केन्द्रित हुनु, चीनतर्फको निर्यात घट्नु र आयातमा पेट्रोलियमदेखि मेसिनरीसम्मको उच्च निर्भरता रहनुले दीर्घकालीन व्यापार सन्तुलन सुधारका लागि उत्पादन क्षमता, निर्यातयोग्य वस्तुको विविधीकरण र उच्च मूल्य अभिवृद्धिका उद्योग विस्तारमा जोड दिनुपर्ने देखिन्छ ।