शुक्रबार, कार्तिक ७ गते २०८३

विपद् प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह


भाद्र १४, २०८३ आइतबार
विपद् प्रभावित क्षेत्रमा वैकल्पिक माध्यमबाट बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले रसुवा लगायत प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा बैंकिङ तथा भुक्तानी सेवा अविलम्ब सुचारु गर्न बैंक तथा वित्तीय संस्थालाई आवश्यक सहजीकरण गरेको छ।

राष्ट्र बैंकले प्रभावित क्षेत्रमा विद्युतीय माध्यम तथा वैकल्पिक स्थानबाट बैंकिङ सेवा निरन्तर सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ। विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आवश्यक वित्तीय स्रोत परिचालन गर्न समेत राष्ट्र बैंकले प्रोत्साहन गरेको जनाएको छ।

हालै रसुवा लगायतका क्षेत्रमा आएको प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्र बैंकले सम्पर्कविहीन सर्वसाधारण, बैंक तथा वित्तीय संस्थाका कर्मचारी र उनीहरूका परिवारप्रति सहानुभूति व्यक्त गरेको छ।

विपद्को अवस्थामा ग्राहक, कर्मचारी तथा समुदायको सुरक्षा र हितलाई प्राथमिकतामा राखी प्रभावित सेवाग्राहीप्रति संवेदनशील हुँदै आवश्यक सहयोग जारी राख्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरेको छ।