काठमाडौं । रसुवाको भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहलाई सरकारले तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम गरेको उक्त निर्णय नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो । घोषित संकटग्रस्त क्षेत्रमा रसुवाका चार, नुवाकोटका चार, धादिङका चार, तनहुँका दुई र गोरखाको एक स्थानीय तह छन् ।
रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका तथा नुवाकोटका विदुर र बेलकोटगढी नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । त्यस्तै, धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाउँपालिका, तनहुँका देवघाट र आँबुखैरेनी गाउँपालिका तथा गोरखाको गण्डकी गाउँपालिकालाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
राजपत्रमा उल्लेख भएअनुसार नेपाल–चीन सीमास्थित भोटेकोशी–ल्हेन्देमा आएको विनाशकारी बाढीका कारण ती स्थानीय तहमा ठूलो जनधन तथा भौतिक क्षति भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । घोषणासँगै प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाउन सरकारलाई कानुनी आधार सहज हुनेछ ।
नेपालपत्र संवाददाता