शुक्रबार, कार्तिक ७ गते २०८३

सुयोग्य साकोसले उद्धार कोषमा पठाएको अधिक रकम फिर्ता हुने


भाद्र १३, २०८३ शनिबार
सुयोग्य साकोसले उद्धार कोषमा पठाएको अधिक रकम फिर्ता हुने

 

काठमाडौं । सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा निर्णयभन्दा बढी रकम ट्रान्सफर भएको भन्दै बढी गएको रकम फिर्ता हुने जानकारी प्राप्त भएको जनाएको छ। 

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्ने निर्णयअनुसार संस्थाले कोषमा रकम पठाएको थियो। तर, ग्लोबल आइएमई बैंकमार्फत कनेक्ट आईपीएसबाट रकम ट्रान्सफर गर्दा निर्णय गरिएको रकमभन्दा बढी रकम गएको संस्थाले जनाएको हो। संस्थाले गरेको निर्णयमा  १ लाख १ हजार १ रूपैया योगदान गर्ने भएकोमा ट्रान्सफर गर्दा १० लाख १ हजार १ रूपैया हुन गएको थियो । 

बढी रकम ट्रान्सफर भएपछि सदस्य, शुभेच्छुक तथा अन्य महानुभावबाट चासो र जिज्ञासा व्यक्त भएको भन्दै संस्थाले त्यसबारे स्पष्टिकरण जारी गरेको छ। उक्त विषयमा कोषसँग समन्वय गर्दा प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषबाट निर्णय भएपछि सुयाेग्य साकाेसकाे निर्णयभन्दा बढी ट्रान्सफर भएको रकम फिर्ता हुने जानकारी प्राप्त भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत सुमन कार्कीले जनाएका छन् । प्राविधिक/ट्रान्सफर त्रुटिका कारण बढी रकम गएको उल्लेख गर्दै यस विषयमा थप भ्रम सिर्जना नहोस् भनेर वास्तविकता सार्वजनिक गरिएको उनले जनाएका छन्।