शुक्रबार, कार्तिक ७ गते २०८३

बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न उद्याेग वाणिज्य महासंघको आग्रह


भाद्र ११, २०८३ बिहीबार
बाढीपीडितको उद्धार र राहतमा तत्काल जुट्न उद्याेग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितको तत्काल उद्धार, राहत र सुरक्षित स्थानान्तरणमा जुट्न सम्बन्धित सबै निकायलाई आग्रह गरेको छ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठद्वारा जारी अपिलमा विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिक तथा व्यवसायीको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्न महासंघले आग्रह गरेको छ।

महासंघले थप जनधनको क्षति हुन नदिन नेपाल सरकारका सम्बन्धित निकाय, सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा उद्धार संयन्त्रलाई उच्च सतर्कतासहित खोज, उद्धार तथा राहत कार्य प्रभावकारी र तीव्र बनाउन आग्रह गरेको छ। त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रमा अझै जोखिम कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा जोखिम क्षेत्रमा आवागमन नियन्त्रण र पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन पनि महासंघले जोड दिएको छ।

महासंघले आफ्ना मातहतका सम्पूर्ण जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित संस्थासँग आवश्यक समन्वय गरी उद्धार तथा राहत कार्यमा तत्काल सक्रिय हुन आह्वान गरेको छ।

सहायता तथा राहत सामग्रीको वितरण पारदर्शी, सुरक्षित र प्रभावकारी बनाउन आग्रह गर्दै महासंघले खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थित आपूर्ति सुनिश्चित गर्नुपर्ने जनाएको छ। विपद्को कठिन अवस्थामा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै राज्यका प्रयासमा हातेमालो गर्नुपर्नेमा पनि महासंघले जोड दिएको छ।

महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकता दिई अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्वाध बनाउन उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ। महासंघले प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा आफूहरू रहेको उल्लेख गर्दै उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।

अन्त्यमा महासंघले सम्पूर्ण नागरिक तथा उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित र एकताबद्ध रूपमा विपद्को सामना गर्न तथा कठिन परिस्थितिमा एक–अर्कालाई सहयोग गर्न आह्वान गरेको छ।