शनिबार, आश्विन १७ गते २०८३

नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तार गरि व्यापार बृद्धि गर्न सकिन्छः राजदूत घोस

मंसिर २४, २०७८ शुक्रबार
नेपाल र स्लोभेनियाबीच आर्थिक सम्बन्ध विस्तार गरि व्यापार बृद्धि गर्न सकिन्छः राजदूत घोस


 भारत र नेपालका लागि स्लोभेनियाकी राजदूत मोताया बोदेब घोसले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा जोड दिएका छन् ।  नेपाल उद्योग परिसंघको पदाधिकारीसँगको भेटमा राजदूत घोसले नेपाल र स्लोभेनियाबीचको व्यापार वृद्धि गर्न सकिने क्षेत्रको पहिचान गरी आर्थिक सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । 

 स्लोभेनियाले दीगो पर्यटनमा उदाहरणीय काम गरेको  भन्दै  उनले नेपालले पनि यसमा काम गर्न सक्ने उल्लेख गरे । राजदूत घोसले नेपालमा विदेशी लगानीका संभावना रहेका क्षेत्रमा स्लोभेनियाका लगानीकर्ता आकर्षित गर्न आफूले पहल गर्ने बताए  । ‘नेपाल र स्लोभेनियाबीच दुईपक्षीय आर्थिक सम्बन्ध विस्तारका धेरै संभावना रहेका छन्,’ उनले भने, ‘अब हामीले दुईपक्षीय व्यापार विस्तार एवं लगानी वृद्धिका लागि काम गर्नुपर्छ ।’

छलफलका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा कृषि, पर्यटन, जलविद्युतलगायतका क्षेत्रमा लगानीको ठूलो संभावना रहेको भन्दै स्लोभेनियाका लगानीकर्ताले लगानी गर्न सक्ने उल्लेख गरे । ‘नेपाल सरकारले नीतिगत सुधारका धेरै काम गरेको छ,’ उनले भने ‘विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हो ।’ अध्यक्ष अग्रवालले नेपालमा हरित ऊर्जाको अथाह संभावना रहेको र नेपालमा उत्पादित ऊर्जा निर्यातको बजार पनि प्रसस्त रहेकाले विदेशी लगानीकर्ताले ढुक्कले लगानी गर्न सकिन्छ । ’

परिसंघका पूर्वअध्यक्ष एवं स्लोभेनियाका अवैतनिक महावाणिज्यदूत हरिभक्त शर्माले स्लोभेनियाले प्रविधिको क्षेत्रमा ठूलो विकास गरेकाले नेपालले पनि औद्योगिक क्षेत्रका लागि आवश्यक प्रविधि भित्र्याउन सक्ने उल्लेख गरे  ।