काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)ले रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालद्वारा जारी अपिलमा तत्काल राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाइएको हो। संघले प्राकृतिक विपद्को यस कठिन घडीमा सम्पूर्ण बचत तथा ऋण सहकारी अभियानलाई एकजुट र समर्पित बनाउन आग्रह गर्दै सहकारी संस्था तथा संघहरूलाई राज्यद्वारा आधिकारिक राहत कोष वा बैंक खातामार्फत स्वेच्छिक योगदान गर्न अपिल गरेको छ।
त्यसैगरी, नेफ्स्कुनले अभियानबाट हुने कुल योगदानलाई एकीकृत गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने जनाएको छ। योगदानको विवरण उपलब्ध गराउन संघले आफ्ना सदस्य तथा सम्बद्ध संस्थालाई आग्रहसमेत गरेको छ। भोटेकोशी बाढीबाट प्रभावित स्थानीय क्षेत्रमा उद्धार तथा राहत कार्यमा सक्रिय हुन स्थानीय सहकारी संघ–संस्थालाई समेत नेफ्स्कुनले आह्वान गरेको छ। संघले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
नेपालपत्र संवाददाता