काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आउँदा तटीय क्षेत्रमा भीषण क्षति पुराएकाे छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले तिब्बत तर्फबाट अकास्मात् आएकाे बाढीले व्यापक क्षति गरेकाे बताएका छन् । बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
नेपाल प्रहरीले अर्को सूचना जारी नभएसम्म नुवाकोट, धादिङ, चितवन, गोरखालगायत त्रिशूली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी आसपास नजान आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ ।
बाढीका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै काठमाडौँबाट रसुवा, नुवाकोट, धादिङ र चितवनतर्फ जाने सवारीसाधनसमेत रोकिएका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता नरेशराज सुवेदीका अनुसार जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौँमै रोकिएको हो ।
यसैबीच, जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भोटेकोशीमा आएको बाढी वर्षाका कारण नभएको जनाएका छन् । पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भए पनि सात मिलिमिटरभन्दा बढी वर्षा नभएकोले हिमताल फुटेको हुन सक्ने आशंका रहेको जनाए । यसबारे थप अनुसन्धान गरिने जनाएका छन् ।
नेपालपत्र संवाददाता