बर्दिवास बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा तीन दिने कृषक खेल तालिम सम्पन्न भएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सहजीकरणमा तालिम सम्पन्न भएको हो । तालिममा संस्थामा आवद्ध २८ जना शेयर सदस्यको सहभागिता रहेको थियो ।
नेफ्स्कूनका तालिम सहजकर्ता राम कृष्ण भट्टराई र महेश वरालले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाइ कृषि व्यवसाय संचालनका लागि आवश्यक सीप ज्ञान तथा विविध वस्तुहरुको वारेमा खेलको माध्यमबाट सरलरुपमा बुझाउने प्रयास गरिएको थियो। तालिमको अवसरमा गरिएको विभिन्न खेलमा प्रथम स्थान हासिल गर्न सफल सहभागीहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो ।
उक्त तालिम कार्यक्रमको उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन संस्थाका ऋण अधिकृत बेद कुमार अधिकारीले सञ्चालन गरेका थिए भने कार्यक्रमको सभापतित्व संस्थाका सचिव मदन कुमार ठकुरीले गरेका थिए । संस्थाका मूख्य व्यवस्थापक रमेश बहादुर सिंहले स्वागत गरेका थिए । कार्यक्रमको समापन संस्थाका अध्यक्ष सन्तोष कुमार श्रेष्ठले गरेका थिए ।
संस्थाको शेयर पुँजी २ करोड ३२ लाख, जगेडा कोष १ करोड ५७ लाख,बचत संकलन १८ करोड ७९ लाख,ऋण लगानी १८ करोड ३७ लाख गरी कुल कारोबार २५ करोड ८२ लाख पुगेको छ । संस्थामा २ हजार ७२३ सदस्य आवद्ध रहेका छन् ।

नेपालपत्र संवाददाता