चितवन । भरतपुर महानगरपालिका–२३, कृष्णचोकस्थित सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ ।
संस्थाले सार्वजनिक गरेको चालु आ.व. २०८३/०८४ को साउन मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल बचत १८ करोड ४७ लाख १७ हजार ७१७ रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाले १५ करोड ५२ लाख ८२ हजार ८ रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको शेयर पुँजी करिब २ करोड ५९ लाख रुपैयाँ रहेको छ भने कुल संस्थागत पुँजी १ करोड १ लाख ६५ हजार रुपैयाँभन्दा बढी छ । त्यस्तै, संस्थाको तरलता रकम ५ करोड ३८ लाख ७० हजार रुपैयाँ रहेको छ । तरलता अनुपात २५.१४ प्रतिशत रहेको संस्थाले जनाएको छ ।
संस्थाको कुल सम्पत्ति २३ करोड ८५ लाख ८० हजार रुपैयाँ पुगेको छ । वित्तीय लगानीतर्फ करिब २२ लाख रुपैयाँ रहेको छ भने संस्थामा बाह्य ऋण रहेको छैन । साउन मसान्तसम्म संस्थामा कुल २ हजार ७५५ शेयर सदस्य रहेका छन् भने ४०३ जना सदस्यले कर्जा उपयोग गरिरहेका छन् ।
सुत्केरी भेटघाटसँगै खोलियो बाल बचत खाता
शेयर सदस्यसँगको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले संस्थाको महिला उपसमिति र कर्मचारीहरूको उपस्थितिमा सुत्केरी भेटघाट तथा बाल बचत खाता खोल्ने कार्यक्रम गरेको छ ।
कार्यक्रममा नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना गर्दै सुत्केरी सदस्यलाई भेटघाट गरिएको थियो । संस्थाले आफ्ना शेयर सदस्यका दुई सन्तानसम्मका लागि निरन्तर सञ्चालन गर्दै आएको यस कार्यक्रम आ.व. २०८३/०८४ को पहिलो कार्यक्रम हो । कार्यक्रममा नवजात शिशुहरूको उज्ज्वल भविष्यको कामना गर्दै बाल बचत खातासमेत खोलिएको छ । यसले बालबालिकामा बचत गर्ने बानीको विकाससँगै भविष्यमा सुरक्षित आर्थिक आधार निर्माण गर्न सहयोग पुग्ने संस्थाले जनाएको छ ।
नेपालपत्र संवाददाता