बुधबार, भाद्र १० गते २०८३

कच्चा खाने तेलको कारोबारले साउनमै बढायो आयात र निर्यात


भाद्र ९, २०८३ मंगलबार
कच्चा खाने तेलको कारोबारले साउनमै बढायो आयात र निर्यात

 

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै नेपालको वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनमा आयात ३१ प्रतिशतले बढेर रु. १ खर्ब ८७ अर्ब पुगेको छ। गत वर्षको साउनमा यस्तो आयात रु. १ खर्ब ४३ अर्ब थियो।

आयात बढ्नुमा भारतमा प्रशोधित तेलको बढ्दो बजार र त्यसका लागि अर्जेन्टिना तथा ब्राजिलबाट नेपालले आयात गर्ने कच्चा तेल प्रमुख कारण देखिएको छ। साउनमा मात्रै रु. १८ अर्बको कच्चा भटमास तेल आयात भएको छ, जुन सबैभन्दा धेरै मूल्यको आयातित वस्तु हो। गत वर्ष यस्तो आयात रु. १० अर्बमा सीमित थियो।

नेपालमा प्रशोधन गरिएको भटमास तेलको ठूलो हिस्सा भारततर्फ निर्यात हुने भएकाले यही कारोबारले आयातसँगै निर्यातको तथ्यांक पनि उकासेको छ। साउनमा नेपालबाट रु. १८ अर्बको भटमास तेल भारत निर्यात भएको छ।

समग्रमा साउनको निर्यात ६२ प्रतिशतले बढेर रु. ३८ अर्ब ७० करोड पुगेको छ। गत वर्ष यस्तो निर्यात रु. २३ अर्ब ९३ करोड थियो। भटमास तेलपछि रु. १ अर्ब २९ करोडको पाम तेल, रु. १ अर्ब २० करोडको सूर्यमुखी तेल, रु. १ अर्ब १५ करोडको स्टेनलेस स्टिलका घरायसी सामग्री तथा रु. १ अर्ब ६० करोडको जुट निर्यात भएको छ।

आयाततर्फ कच्चा भटमास तेलपछि रु. १३ अर्ब ८५ करोडको डिजेल, रु. ८ अर्ब ४६ करोडको एलपी ग्यास, रु. ७ अर्ब ८६ करोडको रासायनिक मल, रु. ६ अर्ब ८८ करोडको पेट्रोल र रु. ३ अर्ब ८७ करोडको स्मार्टफोन प्रमुख छन्।

निर्यातमा आएको उच्च वृद्धिका बाबजुद आयातको आकार ठूलो भएकाले व्यापार घाटा भने घटेको छैन। साउनमै व्यापार घाटा रु. १ खर्ब ४८ अर्ब नाघेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब २५ प्रतिशत बढी हो।

अर्थविद्हरू साउनको तथ्यांकले नेपालको निर्यातमा सुधार देखाए पनि यसको ठूलो हिस्सा विदेशबाट कच्चा पदार्थ ल्याएर प्रशोधन गरी भारत निर्यात गर्ने तेल व्यापारमा केन्द्रित रहनु जनाउँछन् । पहिलो महिनामा वैदेशिक व्यापारमा ‘निर्यातको उच्च वृद्धि’ सबैभन्दा सकारात्मक पक्ष भएपनि ‘व्यापार घाटाको निरन्तर वृद्धि’ सबैभन्दा ठूलो चुनौतीको रूपमा रहिनैरहेकाे छ ।