बुधबार, भाद्र १० गते २०८३

कर्मणा साकोसद्वारा २६औँ स्थापना दिवसमा रक्तदान, सदस्यमैत्री सेवाकाे प्रतिवद्धता


भाद्र ८, २०८३ सोमबार
कर्मणा साकोसद्वारा २६औँ  स्थापना दिवसमा रक्तदान, सदस्यमैत्री सेवाकाे प्रतिवद्धता

ललितपुर । कर्मणा बचत तथा ऋण सहकारी संस्थाले २६औँ स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेकाे छ । संस्थाकाे अयाेजनामा भएकाे रक्तदान कार्यक्रम लायन्स क्लब अफ महिमा सातदाेबाटाेकाे सहअयाेजना रहेकाे थियाे भने प्राविधिक सहयाेग टीयु लायन्स ब्ल ट्रान्स्फ्यूजन एण्ड रिसर्च सेन्टर कीर्तिपुरकाे रहेकाे थियाे । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम अयाेजना गरिएकाे जनाएकाे छ ।  

संस्थाका अध्यक्ष सहदेव बञ्जाराले स्थापना दिवसका अवसरमा संस्थालाई थप सदस्यकेन्द्रित, विश्वसनीय र समुदायमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थापनाकालका २५ जना संस्थापक सदस्य र २५ हजार रुपैयाँ पुँजीबाट सुरु भएको सहकारीमा हाल २ हजार ५५४ जना सदस्य तथा ५ करोड ३९ लाख रुपैयाँ शेयर पुँजी पुगेको जनाएको छ। संस्थाकाे कुल वासलात ६५ कराेड पुगेकाे छ । 

अध्यक्ष बञ्जाराले सदस्यको शेयर पुँजी तथा बचतलाई सुरक्षित लगानी गर्दै सरल, छिटो र सहज सेवा प्रवाहलाई निरन्तरता दिने नाएका छन्। सदस्यको सक्रिय सहभागिता र जिम्मेवारीलाई संस्थाको विकासका लागि महत्वपूर्ण आधारका रूपमा लिँदै नियमित तथा उत्कृष्ट कारोबारमा जोड दिन संस्था प्रतिबद्ध रहेकाे अध्यक्ष बञ्जाराकाे भनाइ छ।

सहकारी क्षेत्रमा देखिएका नकारात्मक प्रभावका बीच सदस्यकेन्द्रित सेवा र सदस्यको विश्वासलाई संस्थाको मुख्य आधार बनाउने अध्यक्ष बञ्जाराले उल्लेख गरे। सदस्यले दिएको विश्वासलाई उचित रूपमा सम्बोधन गर्दै वित्तीय सेवा, सम्मानजनक व्यवहार र सुझाव–सल्लाहका आधारमा भरपर्दो सेवा प्रदान गर्ने उनले बताए।

संस्थाले आगामी दिनमा महिला तथा युवालाई नयाँ सोच, व्यवसाय र आर्थिक रूपमा सक्षम बनाउन सहयोगी हुने विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। साथै, सदस्य र समुदायलाई प्राथमिकतामा राखी बचत संस्कृतिको विकास, सदस्यको हितमा काम तथा सहयोग र सहकारिताको अभियानमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिएको छ। अध्यक्ष बञ्जाराले संस्थाको आगामी यात्रा सदस्यकेन्द्रित कारोबारको मात्र विस्तार नभई समुदाय र सदस्यबीचको अपनत्व अझ मजबुत बनाउने दिशामा केन्द्रित हुने उल्लेख गरे ।