बुधबार, भाद्र १० गते २०८३

नागढुङ्गा सुरुङमार्ग साना सवारीका लागि एकतर्फी खुला


भाद्र ८, २०८३ सोमबार
नागढुङ्गा सुरुङमार्ग साना सवारीका लागि एकतर्फी खुला

 

काठमाडौं–नौबिसे सडकखण्डअन्तर्गतको नागढुङ्गा सुरुङमार्ग आजदेखि सर्वसाधारणका साना सवारीका लागि आंशिक रूपमा खुला गरिएको छ। परीक्षण सञ्चालनका क्रममा यसअघि एम्बुलेन्स तथा आपतकालीन सेवाका सवारीलाई मात्र प्रवेश दिइँदै आएकोमा सोमबारदेखि कार, जीप र भ्यानसहित ९ सिटसम्मका साना सवारीलाई सुरुङमार्ग प्रयोग गर्न दिइएको हो।

सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार सुरुङमार्ग अहिले पनि परीक्षणकै चरणमा रहेकाले तत्कालका लागि बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म एकतर्फी आवागमन सञ्चालन गरिएको छ। सरकारी नम्बर प्लेटका सवारी, एम्बुलेन्स तथा अन्य आपतकालीन सेवाका सवारीले पनि सुरुङमार्ग प्रयोग गर्न पाउनेछन्।

हाल दुईपाङ्ग्रे तथा अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई भने सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ। ठूला सवारीलाई पनि परीक्षण सञ्चालनको मूल्यांकनपछि क्रमशः प्रवेश दिइने विभागले जनाएको छ।

सुरुङमार्गको सञ्चालन अवस्था र ट्राफिक व्यवस्थापनको मूल्यांकन गरी एक–दुई दिनभित्र दुईतर्फी आवागमन खुला गर्ने तयारी छ। त्यसपछि सञ्चालन अवधि बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म र क्रमशः बिहान ६ बजेदेखि राति १० बजेसम्म पुर्‍याउने योजना रहेको जैसीले बताए।

करिब २४ अर्ब रुपैयाँ लागतमा निर्माण भएको नागढुङ्गा सुरुङमार्गको गत साउन ११ गते उद्घाटन गरिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते शिलान्यास गरेको आयोजना ४२ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

कोरोना महामारी, जग्गाको मुआब्जा विवाद तथा खानेपानीलगायत विषयमा स्थानीयसँग देखिएका समस्याका कारण देखाउँदै आयोजनाको म्याद पटक–पटक थपिँदा निर्माण सम्पन्न हुन करिब सात वर्ष लागेको हो।