काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत् सम्मेलन ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’को पाँचौँ संस्करण भाद्र ११ गते ललितपुरमा आयोजना हुने भएको छ । आईसीटी फाउन्डेसन नेपालको आयोजनामा हुने सम्मेलन ‘शासन, डेटा र डिजिटल अर्थतन्त्रको पुनर्कल्पना’ विषयमा केन्द्रित रहनेछ ।
सम्मेलनमा तीनभन्दा बढी मुख्य प्रस्तुति, पाँच विषयगत प्यानल संवाद तथा एक पावर संवाद सञ्चालन हुने आयोजकले जनाएको छ । डिजिटल नेपालको प्रवर्द्धनका लागि भइरहेका १० भन्दा बढी नवप्रवर्तनका प्रस्तुति तथा २० भन्दा बढी नेपाली प्रविधिको प्रदर्शनीसमेत रहनेछ ।
सम्मेलनमा सरकारका उच्चपदस्थ प्रतिनिधि, मन्त्री, प्रतिनिधिसभा सदस्य तथा अन्तर्राष्ट्रिय विज्ञसहित ५०० भन्दा बढीको प्रत्यक्ष सहभागिता रहने बताइएको छ । सम्मेलनले डिजिटल रूपान्तरण, नीतिगत सुधार र कार्यान्वयनमा सरकार, निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय निकायबीच सहकार्य बढाउने उद्देश्य राखेको छ ।
सम्मेलनका छलफल मुख्यतः डिजिटल सार्वजनिक पूर्वाधार तथा सुशासन, डेटा–एआई तथा साइबर सुरक्षा र डिजिटल अर्थतन्त्र तथा नवप्रवर्तनमा केन्द्रित हुनेछन् । संस्थागत डिजिटल सुधार, एकीकृत डिजिटल परिचय, डेटा सार्वभौमिकता, एआईको नैतिक प्रयोग, साइबर सुरक्षा, डिजिटल लगानी र दक्ष जनशक्तिका विषयमा बहस हुने आयोजकले जनाएको छ ।
नेपाली प्रविधि कम्पनीद्वारा विकसित ‘टिङटिङ’ र ‘थर्डफ्याक्टर एआई’ले सम्मेलनमा विशेष सहकार्य गर्नेछन् । सम्मेलनमा एआई प्रविधिको प्रत्यक्ष अनुभवसहित विभिन्न नेपाली प्रविधिको प्रदर्शनीसमेत गरिनेछ । साथै, डिजिटल नेतृत्व र रूपान्तरणका लागि राजनीतिक प्रतिबद्धताबारे समेत अन्तिम सत्रमा छलफल हुनेछ ।
नेपालपत्र संवाददाता