सोमबार, भाद्र ८ गते २०८३

नीजि क्षेत्रप्रति शंकाको दृष्टिकोणले हेर्दा आर्थिक विकास हुँदैनः अध्यक्ष श्रेष्ठ


भाद्र ७, २०८३ आइतबार
नीजि क्षेत्रप्रति शंकाको दृष्टिकोणले  हेर्दा  आर्थिक विकास हुँदैनः अध्यक्ष श्रेष्ठ

 नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे ।

राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै आएको उल्लेख गर्दै उनले पछिल्ला घटनाक्रमले निजी क्षेत्र र युवालाई झनै त्रसित बनाएको बताए । उनले भने, ‘समस्या थुप्रै छन् तर सबैभन्दा पहिलो कुरा त निजी क्षेत्रलाई विश्वास गर्नुप¥यो, निजी क्षेत्रको कन्फिडेन्स बढाइदिनुप¥यो । अहिलेको समयमा निजी क्षेत्रको कन्फिडेन्स इतिहासमै एभर लो अवस्थामा छ । विभिन्न राजनीतिक परिवर्तन भए, प्राकृतिक प्रकोप पनि भोग्यौं तर अहिलेको परिस्थिति एकदमै कम आत्मविश्वासको स्थितिमा छ । त्यसलाई सबैभन्दा पहिला ट्रस्ट बिल्डअप गर्नैपर्छ । पछिल्लो पटक भएका घटनाहरूले निजी क्षेत्र झन् त्रसित छ, युवाहरू झन् त्रसित छन् ।’

श्रेष्ठले सरकारले उद्योग सञ्चालन गर्नु गलत नभए पनि एउटा उद्योगलाई मात्रै केन्द्रमा राखेर औद्योगीकरणको नीति बनाउन नहुने बताए । हेटौंडा कपडा उद्योग सञ्चालनका विषयमा मन्त्रीले निजी क्षेत्रले उद्योग बन्द गराउन खोज्न सक्ने आशंका व्यक्त गरेको प्रसंग उल्लेख गर्दै उनले त्यस्तो मानसिकताले देशमा औद्योगीकरण हुन नसक्ने टिप्पणी गरे । 

‘सरकारले केही उद्योग सञ्चालन गर्न खोजिरहेको छ, त्यसलाई म गलत भन्दिनँ । सरकारले मेसेज पनि दिन खोजेको होला । तर एउटा उद्योगका लागि मात्रै सोचेर भएन । हेटौंडा कपडा उद्योग चल्यो, अब व्यापारीहरूले यसलाई आँखा लगाउँछन्, बन्द गराउन खोज्छन् भन्ने किसिमको मानसिकता किन लिने, मन्त्रीज्यूलाई मेरो सुझाव छ—त्यसका लागि डराउनै पर्दैन, नेपालमा झाँक्रीहरू थुप्रै छन्, लगेर फुकफाक गरे हुन्छ । नभए खुर्सानी र कागती झुण्ड्याए पनि हुन्छ, कसैको आँखा लाग्दैन। तर यस्तो सोच बनाएर देशमा औद्योगीकरण हुँदैन। नेतृत्व लिनेहरूले यस्तो सोच लिनु हुँदैन,’ उनले भने ।