सोमबार, भाद्र ८ गते २०८३

कम्युनिष्ट आन्दोलनको कार्य दिशाको सन्दर्भ र यी  बिश्व अनुभवका कुरा


भाद्र ५, २०८३ शुक्रबार
कम्युनिष्ट आन्दोलनको कार्य दिशाको सन्दर्भ  र यी  बिश्व अनुभवका कुरा


 बिश्वमा एक जमाना थियो त्यतिबेला कम्युनिष्ट आन्दोलन अत्यन्तै लोकप्रिय र आम श्रमजीवी जनताको आशा र भरोसको एक मात्र बिकल्प प्रतीत हुन्थ्यो । हुन पनि त्यो आन्दोलन जन नैतिकता, इमानदारीता, जनसेवाका हिसाबले मात्रै होइन, सबै किसिमका समाजिक–साँस्कृतिक तथा अर्थ–राजनीतिक भेदभाव अर्थात — बर्गीय शोषण र सामाजिक उत्पीडन’बाट मुक्तिको जुन दिशाबोध त्यसले गराएको थियो त्यसको सान्दर्भिकता र महत्व अपूर्बरुपमा स्थापित गरेको थियो । त्यो सान्दर्भिकता आज पनि छ र अझ बढ्न गएको छ ।

यद्यपि अहिले यो आन्दोलन ठूलो धक्का र पराजयको घोर बिचलनकारी प्रबृत्तिको नराम्रोसँग शिकार बनेको कालखण्डबाट गुज्रिरहेको छ । अनि जुन उच्चाईको जनताको बिश्वासको धरोहर  हिजो यो आन्दोलन बन्न सकेको थियो आज त्यो स्थिति छैन । बरु उल्टै कम्युनिष्टको खोल ओढेर कम्युनिष्ट बिरोधी शोषक शासक बर्गको ताबेदारी गर्ने र जनतालाई भ्रमित तुल्याउने प्रबृत्ति आज प्रबल बनेको स्थिति बिद्यमान छ । यस परिप्रेक्षमा अहिलेम्मको बिश्व कम्युनिष्ट आन्दोलनलाई हामीले सर्सरी पनि हे¥यौ र केलायौ भने बिश्व स्तरमा यसमा मूलतः तीनवटा अत्यन्तै महत्वपूर्ण मोड यस आन्दोलनमा आएको प्रष्टसँग देख्न र उल्लेख गर्न सक्छौं ।

त्यस्तो पहिलो उल्लेखनीय र महत्वपूर्ण पहिले मोड १८४८ मा कम्युनिष्ट पार्टीको घोषणापत्रको प्रकाशन पछि बिश्वमा आरम्भ भएको थियो । बस्तुतः यसले संसार अर्थात् मानब समाज र प्रकृति दुबैलाई हेर्ने, ब्याख्या गर्ने र फेर्ने एउटा अत्यन्तै महत्वपूर्ण बैज्ञानिक तथा समकालीन बिश्वका अरु दर्शनभन्दा भिन्न द्वन्दात्मक तथा ऐतिहासिक भौतिकबादी सामाजिक दर्शन, बिचार, दृष्टिकोण र नीति दियो । बस्तुतः कार्ल माक्र्स र फेडरिक एङ्गेल्सले बिश्वका सामु प्रस्तुत गरेको त्यो कम्युनिष्ट घोषणा पत्रले संसारलाई हेर्ने, बुझ्ने, ब्याख्या गर्ने र फेर्ने एउटा नयाँ र सशक्त आधार र अपूर्ब ऊर्जा प्रदान ग¥यो । यस प्रकार यसले बिश्वमा ठूलो हलचल मात्र ल्याएको होइन, अहिलेसम्मको गलत बाटोमा — शोषण, अन्याय, दमन, दबाब र थिचोमिचोको अमानबीय बाटोमा–हिडिरहेको संसारलाई बदल्न सकिन्छ, युगौ पुराना सबै प्रकारका दुःखकष्टबाट पार पाउन सकिन्छ, सबै किसिमका बिभेद, अन्याय, असमानताबाट समाजलाई मुक्त गर्न  सकिन्छ र अनि परस्परमा प्रेमपूर्वक बाच्न सकिने सुन्दर र सुखमय एउटा सुरक्षित र सुनिश्चित भबिष्य भएको संसार निर्माण गर्न सकिन्छ भन्ने अत्यन्तै महत्वपूर्ण, सारगर्भित र दूरगामी सन्देश बिश्वलाई यसले दिएको थियो ।

communitflag.webp

यसरी वास्तुतः नयाँ किसिमले संसारलाई गम्भीरतापूर्बक र जिम्मेवारीकासाथ हेर्ने र फेर्ने त्यो घोषणापत्रकै आधारलाई अघि बढाउदै लाने क्रममा नै रुसको १९१७ को महान अक्टोबर सामाजवादी क्रान्तिले सफलता पाएको हो । पूँजीवाद साम्राज्यवादमा बिकसित भए पछि यसको सबैभन्दा कमजोर पकड जहाँ हुन्छ त्यो देशमा क्रान्ति सम्भब छ भन्ने किष्कर्श माक्र्सबादकै सिर्जनात्मक बिकास र प्रयोगको आधारमा निकालेर लेनिनले सफल पारेको त्यो अपूर्व समाजवादी क्रान्तिले बिश्वमा पहिलो पटक मजदुर–किसानको अर्थात समाजको पिँधमा परे पारिएका शोषित पीडित श्रमजीवी जनताको शासन सत्ता स्थापना गरेको थियो । यसरी त्यो समाजवादी क्रान्तिको सफलताले नै पहिलो पटक बिश्व कम्युनिष्ट आन्दोलनमा अर्को या दोश्रो आधारभूत र नयाँ मोड ल्याएको हो । त्यो मोड सर्बहारा क्रान्ति र साम्राज्यवाद बीचको संघर्षको मोड थियो र हो । बास्तवमा मूलतः अहिले पनि त्यही क्रान्तिको मूलप्रवाहबाट बिश्व कम्युनिष्ट आन्दोलन गतिमान छ । अर्थात्  त्यो मोडलाई छोडियो भने त्यो कम्युनिष्ट आन्दोलन रहदैन,अबरुद्ध हुन्छं र त्यसमा बिकृति बिसंगति आउँदछ ।

लेनिनको नेतृत्वमा सम्पन्न त्यो पहिलो समाजवादी क्रान्ति पछि नै बिश्वका अरु धेरै देशहरुमा सामन्तबाद, साम्राज्यवाद र उपनिवेशबाद बिरोधी आन्दोलनको लहर बिश्वब्यापीरुपमा पैmलिएको र तिनले सफलता पाएका हुन् भन्ने कुरा इतिहासले सिद्ध गरिसकेको यथार्थ कुरा हो । त्यही क्रममा नै चीन र भारत पनि उपनिवेशबादको पञ्जावाट मुक्त भएका हुन् । त्यसै क्रममा नै चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर आज बिश्वको अग्रतम आर्थिक शक्तिकोरुपमा चीन स्थापित हुन गइरहेको छ । तर बिश्वले यतिबेला समाजवादी सोभियत संघमै त्यो महान समाजवादी क्रान्तिका उपलब्धीहरु नजोगिनु र सोभियत समाजवादको पत्तन हुनुको पछाडिका बस्तुगत र मनोगत कारणहरु सही किसिमले केलाएर सार्थक निष्कर्शमा पुग्नुपर्ने गम्भीरतम आवश्यकता छ – बिश्व कहाँ पुगेको छ भनेर हेर्न र यसलाई सही किसिमले फेर्नका लागि गम्भीर, गहन, जिम्मेवारीपूर्ण अध्ययन, बिश्लेषण र संश्लेषणको आवश्यकता आज अझ बढ्न गएको छ ।

यो बिश्व कम्युनिष्ट आन्दोनलको अहिलेको तेश्रो महत्वपूर्ण मोड हो —सोभियत समाजवादले ७० बर्ष चलेपछि १९९० मा खाएको अत्यन्तै गम्भीर धक्का र यसको पत्तन, जसको ब्यापक र दूरगामी असर अहिले पनि बिश्वब्यापीरुपमा परिरहेको छ । यसले बिश्व कम्युनिष्ट आन्दोलनका गम्भीर प्रकारका कमी कमजोरीहरु केलाउन, यसलाई पुनः सही धरातलमा खडा गर्न र सही दिशामा अघि बढाउन बिश्वभरीका कम्युनिष्ट तथा यो शोषण उत्पीडनमा आधारित बिश्व समाजलाई समूल रुपमा फेर्न चाहने प्रगतिशील, बामपन्थी क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुले समेत आज गहनरुपमा सोचबिचार पु¥याउन पर्ने दूरगामी महत्वको अत्यन्तै गम्भीर कुराको गहिरो बोध गराउँछ ।

यसरी सर्सरी हेर्दा यसरी हामी प्रष्ट देख्दछौं कि बिश्वमा अहिलेसम्म कम्युनिष्ट आन्दोलनका दुइटा चक्रले पूर्णता पाइसकेका छन् भने तेश्रो चक्र अर्थात ठूलो धक्का खाएको कालखण्डको स्थितिमा आजको बिश्व समाज रहेको छं । त्यसैले यतिबेला यो धक्काका साँङ्गोपाङ्गो कारणहरु केलाएर आन्दोलनको पुनर्समीक्षा गर्दै नयाँ किसिमले अघि बढ्नुपर्ने कालखण्डबाट बिश्व समाज अघि बढ्दैे छ । यो चरण वास्तवमा घोर बिचलन,सिद्धान्तहीनता, भयंकर धक्का, र आत्म समीक्षाको अत्यन्तै गम्भीर र महत्वपूर्ण चरण हो। यो कुरालाई नेपाल लगायत बिश्वभरीका कम्युनिष्ट तथा क्रान्तिकारी बामपार्टीहरुले महसुश गर्नु पर्दछ र धेरथोर मात्रामा गर्दै आएको पनि देखिन्छ ।

यस सन्दर्भमा झण्डै एक दशकभन्दा  अगाडि पोर्चुगलको राजधानी लिस्वनमा बिश्वका ६१ देशका ७६ कम्युनिष्ट पार्टीहरुको संयुक्त बैठकले एकमतले के निचोड निकालको थियो भने ठूलो धक्का खाए पनि वास्तवमा बैज्ञानिक समाजवाद नै पूँजीवादी संकटबाट मुक्तिको बिश्वको आजको पनि सही बिकल्प हो । तर बिगतमा र अहिले पनि समाजवादी सिद्धान्त र ब्यवहारका बारेमा जस्तो किसिमले तोडमोड गरिएका छन्, जस्ता गम्भीर गल्तीहरु दोहो¥याइएका छन् र जसरी समाजवादी आन्दोलनलाई शिथिल र दिशाहीन तुल्याउने खालका गतिबिधि भइरहेका छन् तिनबाट उचित शिक्षा लिएर अघि बढ्न सक्दा मात्र बैज्ञानिक समाजबादका मानबीय, बिश्वब्यापी उपलब्धीहरु, समाजवादी प्रणाली र तिनको औचित्यता र आवश्कयताको पुनर्पुष्टी गर्दै अघि बढ्न सकिने आलोचनात्मक सार त्यो संयुक्त बैठकले खिचेको थियो ।

त्यस बैठकले क्रान्तिको कुनै एउटै मोडेल या नमूना हुँदैन र त्यो दोहो¥याइरहन मिल्दैन र सकिदैन पनि भन्ने उल्लेख गर्दै तर समाजवादी क्रान्ति सम्पन्न गर्न, जीबन्त समाजवाद निर्माण गर्न र त्यसको सही ढंगले ब्यवस्थापन गर्न श्रमजीबी जनताको अग्रतम र निर्णयक भूमिकालाई सुनिश्चित गरिनु पर्दछ र त्यो सम्भब छ र  हुन्छ भन्ने कुरालाई बिशेषरुपमा दोहो¥याएको थियो । बर्तमान अन्तर्राष्ट्रिय स्थितिको परिप्रेक्षमा बिश्वभरीका कम्युनिष्ट तथा श्रमजीवी जन समुदायकासाथै साम्राज्यवाद बिरोधी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्तिहरुको ऐक्यवद्धता र पारस्परिक सहयोग नै त्यस्तो शक्ति हो जसले बैज्ञानिक समाजवाद एउटा अजेय बिकल्प हो भन्ने कुरालाई मूर्त र ठोसरुपमा चरितार्थ गर्दछ र गर्न सक्दछ भन्ने निष्कर्श बैठकले निकालेको थियो ।

यसका लागि बिश्वका बद्लिदा गतिबिधिहरुलाई निरन्तर हेर्ने, केलाउने, परस्पर यस्ता अन्तरक्रिया गर्ने, बिचारहरुको आदान प्रदान गर्ने र समय सापेक्ष र सही क्रान्तिकारी गतिबिधिहरुलाई अघि बढाउन हर तरहले लाग्ने प्रतिबद्धता पनि जनाइएको थियो । यसका लागि त्यो बिश्व बैठकले बिश्व समाजवादी आन्दोलनलाई अघि बढाउन समय सापेक्ष बिभिन्न नीति र बिभिन्न कदमहरु अबलम्बन गर्ने र तिनलाई ब्यवहारमा खरो उतार्ने महत्वपूर्ण निर्णयहरु समेत लिएको थियो ।
महान समाजवादी अक्टोबर क्रान्ति हुनु अघिको आधा शताब्दीको कालखण्डलाई हामीले नियालेर हे¥यौ भने पनि त्यतिबेला कम्युनिष्टहरु राज्य सत्ता सञ्चालन गर्ने अबस्थामा नपुगेको भए पनि त्यो समय उनीहरुको निमित्त बृहत बहस, अन्तरक्रिया र रचनात्मक प्रकृयाको दृष्टिले अत्यन्तै उर्बर समय थियो ।

बिशेषगरी यस सन्दर्भमा पेरिस कम्युनको असफलतापछिको कालखण्ड कम्युनिष्ट सिद्धान्त र बिचारधाराको समृद्धिका निमित्त आदर्शतम काल खण्ड रहेको औंल्याउन सकिन्छ ।वास्तवमा त्यो कालखण्डमा अरुको आलोचना सुन्ने र आफ्नो गल्ती सच्याउने लोकतान्त्रिक र पारदर्शी असल परिपाटी अत्यन्तै प्रबल बनेको समय थियो ।त्यतिबेला माक्र्स र एंगेल्सलाई समकालीनहरुले गरेको आलोचनाहरुबाट उनीहरुले सही शिक्षा लिने गरेको कुरा नै यसको सबैभन्दा ज्वलन्त उदाहरणकोरुपमा लिन सकिन्छ । वास्तवमा त्यो कालखण्डमा आजको जस्तो कम्युनिष्ट आन्दोलनमा त्यस्तो कुनै जालझेल र षडयन्त्रहरुको गन्धसम्म पनि थिएन । माक्र्सवादी नेता कार्यकर्ताहरुमा पारदर्शीता, इमानदारीता र जनताप्रति शतत समर्पण त्यो बेलाको प्रष्ट चरित्र र उदात्त स्वाभाव थियो । वास्तवमा लेनिनको नेतृत्वमा भएको महान अक्टोबर समाजवादी क्रान्तिको श्रेय मूलतः यही महत्वपूर्ण बिशेषता र जीवन्त बस्तुस्थितिलाई दिइनु सर्बथा उचित हुुन्छ ।
आजका पछिल्ला दिनहरुमा समग्र बिश्व कम्युनिष्ट अन्दोलन र बिभिन्न देशका कम्युनिष्ट आन्दोलनमा कम्युनिष्ट नैतिकता, निष्ठा, इमानदारीता, आचरण र ब्यवहारको ठाउमा जालझेल र षडयन्त्रले नराम्रोसँग गुढ लाउन थाल्यो र यो आन्दोलनलाई भित्रैबाट कमजोर र खोक्रो बनाउन थाल्यो । जालझेल र षडयन्त्रको यस्तै अनुभूतिले गर्दा होला चीनमा कम्युनिष्ट पार्टीका अध्यक्ष माओले आफ्नो जीवनको उत्तराद्र्धमा पुग्दै गर्दा ‘माक्र्सबादको प्रयोग गर संशोेधनबादको होइन, एकजुट होऊ नफुट, खुल्ला र खुलस्त होऊ, जालझेल र षडयन्त्र नगर’भन्ने अत्यन्तै महत्वपूर्ण र सारगर्भित मार्गदर्शन गरेका र निर्देशन दिएका थिए । वास्तबमा यीनै महत्वपूर्ण सारलाई बुझेका तथा बिश्व म्युनिष्ट आन्दोलन र त्यसको एउटा अंग नेपाली कम्युनिष्ट आन्दोलन भित्र पनि भित्रिएको जालझेल र षडयन्त्रको अनुभव बटुलेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालले पनि ‘राजनीति जालझेल होइन, बास्तबिक बस्तुस्थितिको आधारमा बर्गीय बिश्लेषणको निचोड हो’ भन्ने दूरगामी र महत्वपूर्ण निष्कर्श निकालेका थिए र बिभिन्न घटना,पघिटनाहरुबाट सही शिक्षा लिनुपर्ने महत्वपूर्ण सन्देश दिएका थिए ।

वस्तुतः आज पनि समग्र नेपाली जन आन्दोलनलाई र बिशेषतः कम्युनिष्ट आन्दोनललाई क्रान्तिकारी नैतिक धरातल प्रदान गर्न र क्रान्तिकारी दिग्दर्शन गराउन यो निष्कर्शको अत्यन्तै ठूलो महत्व छ र रहिरहने छ । देश र जनताको समुन्नति, समानता, सम्बृद्धि शतत शान्ति चाहने सबै क्रान्तिकारी कम्युनिष्ट, बापन्थी र क्रान्तिकारी लोकतन्त्रबादीहरुले आज यी कुरालाई आत्मसात गर्न र सही दिशामा अघि बढ्न सिक्नु, सक्नु र अग्रसर हुनुको कुनै बिकल्प छैन । समग्र कम्युनिष्ट आन्दोलनलाई समयले दिएको सारभूत शिक्षा नै यही हो । आजको कम्युनिष्ट आन्दोलनको कार्य दिशाको कुरा गर्दा बिश्व र नेपालको समेत यो परिपेक्ष र  पृष्ठभूमिले दिएको दिशाबोधलाई आत्मसात गर्न सक्नु र गर्न सिक्नु पर्दछ ।