शनिबार, आश्विन १७ गते २०८३

साउनमा ह्वात्तै बढ्यो एलपी ग्यास आयात, ‘बफर स्टक’ प्रवृत्तिले बजारमा दबाब


भाद्र ५, २०८३ शुक्रबार
साउनमा ह्वात्तै बढ्यो एलपी ग्यास आयात, ‘बफर स्टक’ प्रवृत्तिले बजारमा दबाब

 

काठमाडौं । साउनमा एलपी ग्यासको आयात पछिल्ला पाँच महिनाकै उच्च भएको छ । नेपाल आयल निगमका अनुसार साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन ग्यास आयात भएको हो । आधा सिलिन्डर वितरणपछि रोकिएका माग पूरा गर्न र उपभोक्ताले घरमा रहेका सबै सिलिन्डर भरेर राख्न थालेपछि आयात तथा बिक्री दुवै बढेको निगमको भनाइ छ । यसअघि सबै भन्दा बढी २०८२ फागुनमा ५१ हजा १९२ मेट्रिक टन आयात भएकाे थियाे । 

गत असारमा ४४ हजार ५४४ मेट्रिक टन ग्यास आयात भएकोमा साउनमा त्यसको तुलनामा करिब १२ हजार ७७२ मेट्रिक टन बढी आयात भएको छ । जेठमा ३२ हजार ८४२, वैशाखमा ३२ हजार ५६ र चैतमा ३८ हजार ७९९ मेट्रिक टन ग्यास आयात भएको थियो ।

निगमका निर्देशक विनीतमणि उपाध्यायका अनुसार साउनमा देशभर ४० लाख ३६ हजार ३६४ थान सिलिन्डर बिक्री भएका छन् । असारको तुलनामा साउनमा मात्रै करिब नौ लाख सिलिन्डर बढी बिक्री भएको उनले बताए । ग्यासको आयात नियमित रहेकाले आगामी दिनमा आपूर्ति सहज हुने भन्दै निगमले उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।

आधा सिलिन्डरपछि बढ्यो माग

एलपी ग्यासको आयात बढ्नुको प्रमुख कारण पछिल्लो समयको वितरण प्रणालीमा आएको परिवर्तन देखिएको छ । ग्यासको अभाव भएपछि केही समय आधा सिलिन्डर मात्रै वितरण गरिँदा उपभोक्ताले घरमा थप सिलिन्डर राख्न थालेका थिए । पछि पूरा सिलिन्डर ग्यास उपलब्ध हुन थालेपछि उपभोक्ताले घरमा रहेका सबै सिलिन्डर भरेर राख्न खोज्दा माग एकाएक बढेको निगमको वीरगन्ज कार्यालयका प्रमुख मोहनप्रसाद साहको भनाइ छ ।

यसको असर वीरगन्ज नाकाबाट हुने आयातमा समेत देखिएको छ । मुलुकमा खपत हुने एलपी ग्यासको झन्डै ६० प्रतिशत यही नाका हुँदै भित्रिने गर्छ । साउनमा मात्रै वीरगन्ज नाकाबाट ग्यास बोकेका एक हजार ६२२ बुलेट नेपाल भित्रिएका छन् । अघिल्लो वर्षको साउनमा १ हजार २८७ बुलेट भित्रिएकोमा यसपटक ३३५ बुलेट बढी आएका हुन् ।

ती बुलेटबाट कुल दुई करोड ९९ लाख ८३ हजार ७५० किलोग्राम ग्यास भित्रिएको छ । उक्त परिमाणबाट २१ लाख ११ हजार ५३१ सिलिन्डर भर्न सकिने निगमको वीरगन्ज कार्यालयका वरिष्ठ सहायक सञ्जयकुमार यादवले जानकारी दिए ।

पूरा सिलिन्डर वितरण सुरु भएपछि असारमा वीरगन्ज नाकाबाट १ हजार ४२९ बुलेट भित्रिएका थिए । त्यसअघि आधा सिलिन्डर वितरण हुँदा जेठमा ९३४ र वैशाखमा ९७४ बुलेट मात्रै भित्रिएका थिए ।

रिफाइनरीमा आगलागीपछि आपूर्तिमा असर

नेपालको ग्यास आपूर्तिमा भारतका विभिन्न रिफाइनरीको भूमिका रहेकाले त्यहाँको अवरोधले समेत आयात प्रभावित भएको थियो । निगमका अनुसार भारतको दुर्गापुर, हल्दिया, बरौनी र परादीपस्थित रिफाइनरीबाट ग्यास भरेर बुलेटहरू वीरगन्ज नाका हुँदै नेपाल आउने गर्छन् ।

वीरगन्ज कार्यालयका प्रमुख साहका अनुसार आगलागीका कारण असार २६ गतेदेखि दुर्गापुर र हल्दिया रिफाइनरीबाट ग्यास आउन रोकिएको थियो । त्यसले आपूर्ति व्यवस्थापनमा दबाब सिर्जना गरे पनि पछिल्लो समय अन्य स्रोतबाट आपूर्ति बढाइएको निगमको तथ्यांकले देखाउँछ ।

साउनमा वीरगन्ज नाकाबाट नेपाल ग्यास उद्योगले सबैभन्दा बढी १२९ बुलेट भित्र्याएको छ । त्यस्तै सगरमाथा ग्यास इन्डस्ट्रिजले ११७, नोबेल ग्यासले ९०, बाबा ग्यासले ८१, जानकी ग्यासले ७९ र एभरेस्ट ग्यासले ७० बुलेट भित्र्याएका छन् ।

यसरी साउनमा आयात बढ्नुमा उपभोक्ताको सञ्चित माग, आधा सिलिन्डर वितरणपछि पूरा सिलिन्डर भर्ने क्रम र पछिल्लो समय आपूर्ति सामान्य बनाउन बढाइएको खरिद प्रमुख कारण देखिएका छन् । आगामी दिनमा आयात नियमित रहेमा अहिले देखिएको माग–आपूर्ति दबाब क्रमशः घट्ने निगमको अपेक्षा छ ।